रस अनलाइन खबर आज २०७७-०५-२५
तारकेश्वर नगरपालिका–५ लोलाङका ४७ वर्षीय यदुप्रसाद सापकोटाले गत सोमबार प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै ‘निषेधाज्ञाले गरी खान गाह्रो भएको’ समस्याबारे सादा कापीमा लेखे र त्यसको फोटो खिचेर फेसबुकमा पोस्ट गरे । स्टाटस पोस्ट गरेकै राति १० बजेतिर उनी आफ्नै घरको भान्सामा झुन्डिएको अवस्थामा फेला परे ।
घर नजिकै मासिक झन्डै ८० हजार भाडा तिर्ने गरी हार्डवेयर पसल सञ्चालन गरेका सापकोटा ६ महिनायता व्यापार ठप्पै हुँदा र बजारबाट पैसा नउठ्दा आपत्मा थिए । उनका दाइ उद्धवका अनुसार यदुले बजारबाट मात्रै एक करोड ७७ लाखभन्दा धेरै पैसा उठाउन बाँकी छ । लकडाउनअघि मात्रै घर विस्तार गर्न जग्गा किनेका यदु व्यापार ठप्प हुँदा चिन्तामा थिए । आत्महत्याको प्रारम्भिक अनुसन्धानमा खटिएका महानगरीय प्रहरी वृत्त बालाजुका इन्स्पेक्टर गम्भीरजंग थापाले ‘फ्रस्टेसन’ का कारण उनले आत्महत्या गरेको अनुमान गरे ।
कोरोना महामारीसँगै सुरु भएको लकडाउन र निषेधाज्ञाबाट सिर्जित आर्थिक, सामाजिक असरको सोझो प्रभाव गरिखाने वर्गको मनोविज्ञानमा परेको छ । त्यसलाई सम्हाल्न नसक्दा कोहीले आत्महत्याकै बाटो रोजेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत १० देखि साउन ४ गतेसम्म झन्डै ५ महिनामा २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन् । अर्थात् कोरोना संक्रमण बढेपछि दिनमा औसत १९ जनाले आत्महत्या गरिरहेका छन् ।
मनोचिकित्सकहरू संसारभर नै महामारीका बेला आत्महत्याको दर बढ्ने गरेको बताउँछन् । काठमाडौं विश्वविद्यालयका मनोचिकित्सा विभागका सहप्राध्यापक एवं मनोचिकित्सक अजय रिसालका अनुसार आत्महत्याको दरबाट महामारीका बेला समाजको मनो सामाजिक अवस्था बुझ्न सकिन्छ । उनले विगतमा सार्स, मर्सदेखि हैजाजस्ता महामारीका बेला पनि आत्महत्याको दर बढेको बताए । ‘आत्महत्याबारे खुलेर कुरा गर्दा आत्महत्या बढ्छ भन्ने गलत बुझाइ समाजबाट नहटाएसम्म यसबारे सकारात्मक पहल चाल्न सजिलो हुँदैन,’ उनले भने, ‘एकअर्कासँग खुलेर कुरा गर्दा मनभित्र गुम्सिएका हीनता प्रस्फुटन भई मन हलुँगो हुन्छ । व्यक्तिभित्र भएका हीनता बाहिर ल्याउन पनि खुलेर कुरा गर्नुपर्छ । यस्तो अभ्यासले हीनता बाहिर आउने भेन्टिलेसनको काम गर्छ ।’
रिसालले सन् २०१३ मा आत्महत्याको प्रयास गर्ने प्रवृत्तिबारे काभ्रेको धुलिखेल अस्पतालमा आउने घटनाहरूबारे अध्ययन गरेका थिए । ६ महिने त्यो अध्ययनका क्रममा ७३ वटा आत्महत्या प्रयाससम्बन्धी केस अस्पतालमा आएका थिए । सहप्राध्यापक रिसालले आत्महत्याको प्रयास गर्नेको संख्यामा नेपाल दक्षिण एसियामै अगाडि नै रहेको बताउँछन् । ‘आत्महत्याको अन्तिम निर्णय लिनुपूर्व व्यक्तिले कैयन् संकेत छाड्ने गर्छन् । समयमै परिवारका सदस्यले वा नजिकका साथीभाइले त्यसलाई बुझेर गम्भीर पहल गर्ने हो भने आत्महत्या टार्न सकिन्छ ।’ रिसालको भनाइमा गणना हुने आत्महत्याको बढ्दो संख्या मात्रै नभएर आत्महत्याको प्रयाससम्बन्धी घटनालाई पनि गम्भीरताका साथ हेरिनुपर्छ ।