रस अनलाइन खबर आज २०७७-०५-१६
कोभिड–१९ संक्रमणको त्रास र निषेधाज्ञाका कारण रगत आपूर्तिमा समस्या देखिएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रमा थोरै मात्र रगत मौज्दात रहेको छ । निषेधाज्ञाका कारण रक्तदान शिविर आयोजना गर्न समस्या भएको छ भने स्वास्थ्य सुरक्षा सुनिश्चित नहुनाले दाता पनि रगत दिन तयार देखिँदैनन् ।
नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक, दिव्यराज पौडेलले अधिकांश ठाउँमा रगतको आपूर्ति अर्थात् रक्तदान बढाउन जरुरी रहेको बताए । केन्द्रीय रक्तसञ्चार सेवाका ल्याब इञ्चार्ज श्रवण श्रेष्ठले दिनमा एक सयदेखि डेढ सय पोका (युनिट) सम्म रगत लिन आए पनि उनीहरूले ५०–६० पोका मात्र पाउने गरेको बताए । मुलुकमा कोभिड–१० को संक्रमण सुरु हुनुअघि केन्द्रीय रक्तसञ्चार सेवामा दिनमा ३ सयदेखि ३ सय ५० पोकासम्म रगतको माग थियो । लकडाउन सुरु भएपछि माग केही घटेको छ । ‘४० भन्दा बढी जिल्लामा निषेधाज्ञा हुनाले रक्तदातालाई हिँडडुल गर्न समस्या छ । कोरोना भाइरसको त्रास पनि हुनाले रगत संकलनमा समस्या देखिएको छ,’ पौडेलले भने ।
हालसम्म तीन पटक रक्तदान गरेका बानेश्वर निवासी एक युवाले रक्तदान गर्नुपर्छ थाहा भए पनि क्याम्प वा रक्तसञ्चार केन्द्रसम्म जान डर लाग्ने गरेको बताए । उनले अति निकट आफन्त, साथीलाई रगत नभई नहुने स्थितिमा मात्र रक्तदान गर्ने बताए । रेडक्रस सोसाइटीका सञ्चार निर्देशक पौडेलले नियमित रक्तदातालाई केन्द्रसम्म जान आउन समस्या भएपछि बिरामीका आफन्तले रक्तदान गरिरहेको बताए । ‘रक्तदान गर्न सबैलाई त्रास छ । हामी सुरक्षा प्रोटोकल अपनाएर काम गरिरहेका छौं,’ उनले भने ।
नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्यले कोभिड–१९ का कारण रक्तदाताहरू डराएको बताए । ‘हामी (रक्तदाता) ले बिरामीका लागि दाता खोजेर रगत उपलब्ध गराइरहेका छौं । रगत आपूर्ति सहज बनाउन सरकार र रेडक्रस सोसाइटी चुकेको छ,’ उनले भने ।
समग्रमा रगतको माग कम भए पनि आकस्मिक शल्यक्रिया, दुर्घटना, चोटपटक, प्रसूति, हिमोफिलिया, थालोसेमिया, एनिमिया, डायलसिसलगायत बिरामीका लागि सहज रूपमा रगतको आपूर्ति हुन नसकेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले बताए ।
कोरोना हबमा खपत बढी
कोरोना संक्रमण बढी देखिएको क्षेत्रका र सुविधासम्पन्न अस्पतालमा रगतको खपत बढी छ । सबैभन्दा बढी रगतको खपत पूर्वमा विराटनगर र धरानमा हुन्छ । काठमाडौं उपत्यका र चितवनमा पनि बढी रगत खपत हुन्छ । पोखरा, नेपालगन्ज, कैलाली, धनगढीलगायतमा पनि रगतको खपत बढी हुने रेडक्रस सोसाइटीका सञ्चार निर्देशक पौडेलले बताए ।
हाल धरान र विराटनगरमा रगत आपूर्तिमा धेरै समस्या भएको रक्तसञ्चार केन्द्रले जनाएको छ । ‘त्यहाँ धरान र विराटनगरको स्रोतले रगतको आवश्यकता पूरा हुँदैन । नजिकको जिल्लाबाट आपूर्ति गर्न लकडाउन र निषेधाज्ञाले असर गरेको छ,’ पौडेलले भने । नेपालगन्जमा पनि वरपरको जिल्लाबाट सहज रूपमा रगत आपूर्ति हुन सकेको छैन ।
माग पनि घट्यो
हाल मुलुकमा कोभिड–१९ का कारण पूर्वयोजना अनुसार गरिने शल्यक्रिया ठप्पप्रायः छ । जटिल अवस्था भए मात्रै बिरामी अस्पताल पुग्ने गरेका छन् । त्यसैले सामान्य समयको दाँजोमा रगतको माग कम छ । ‘नियमित शल्यक्रिया धेरै नहुनाले रगतको धेरै खपत छैन,’ वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले भने । बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल, चितवनका निर्देशक डा.देजकुमार गौतमले दाता उपलब्ध नहुने समस्या भए पनि खपत घटेकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए । ‘बिरामीको निकट सम्पर्कबाटै रगत लिने गरेका छौं,’ उनले भने ।
रेडक्रसले वर्षमा दुई लाखदेखि साढे दुई लाख युनिटसम्म रगत संकलन गर्छ । केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक गुप्ताका अनुसार रेडक्रसले ‘मल्टिपल ब्याग’ मा संकलन गरिएको रगतलाई प्याकसेल, फ्रेस फ्रोजन प्लाज्मा, प्लेटेलेट प्रोडक्ट, क्रयोप्रिसिपिटेड प्लाज्मालगायत रक्ततत्त्व बनाएर वितरण गर्छ । मुलुकमा रक्तको सहज आपूर्ति गर्न नियमित रक्तदान प्रक्रियामा जोड दिनुपर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ । भदौको पहिलो साता हुनुपर्ने नियमित रक्तदान शिविर स्थगित भएपछि समस्या बल्झिएको केन्द्रका सञ्चार निर्देशक पौडेलले बताए ।
भदौको पहिलो शनिबार कुनै रक्तदान शिविर भएन भने दोस्रो शनिबार रक्तदान सुरु भयो । नियमित भइरहने रक्तदान कार्यक्रमहरू पनि हुन सकेका छैनन् । कोरोनाका गम्भीर प्रकृतिका बिरामी बढ्दै गए रगतको माग बढ्न सक्ने छ ।