रस अनलाइन खबर आज २०७७-०५-१२
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको निधन भएको छ । अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापाका पुरुष र मोरङकी महिलाको शुक्रबार बिहान निधन भएको हो ।
ज्यान गुमाउने दमक–१, झापाका पुरुष ८३ वर्षका रहेको र उनी बिएन्डसी अस्पतालबाट रिफर भई आएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
मिर्गौला बिग्रेर डाइलासिस गराइरहेका ती पुरुषमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्तकोषिका (एनेमिया) को समस्या थियो । पछिल्लो समय अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि उनलाई अस्पताल लगिएको थियो । उनलाई भदौ ३ गते कोरोना पुष्टि भएको थियो ।
मोरङको बेलबारी–५ की महिला भने कोसी अञ्चल अस्पतालबाट रिफर भई सो अस्पताल आएकी थिइन् । उनलाई खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
आफन्तसँग सम्पर्क नहुँदा यी महिलालाई दीर्घकालीन रोग भए, नभएको थाहा हुन नसकेको अस्पतालले जनाएको छ ।