नेपाल समाचार
-यतिबेला कलाकार विल्सनविक्रम राई फिल्म ‘मैझारो’ निर्देशक गर्न कस्सिएका छन् । अहिले यस फिल्मका लागि कलाकार चयन गर्ने क्रम चलिरहेको छ ।
उनै विल्सनले ‘फिल्म निर्देशन गर्छु’ भनेको दुई वर्ष भयो । ०८० सालको नयाँ वर्ष दिन पारेर उनले फिल्म ‘सिलाम साक्मा’बाट निर्देशनमा डेब्यू घोषणा गरे ।
न त्यो फिल्म बन्यो । न विल्सनको डेब्यू गर्ने सपना सकार भयो । के कारणले ‘सिलामा साक्मा’ बन्ने त्यो उनैलाई थाहा होला ।
फेरि विल्सनले ०८० साल माघमा अर्को फिल्म ‘दाउरे एन्ड चाउरे’ निर्माणको घोषणा गरे । त्यस फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ र विजय बरालको अभिनय रहनेसम्म बताइएको थियो ।
‘दाउरे एन्ड चाउरे’मा पनि उही कथा दोहोरियो । यो फिल्म पनि बनाउन सकेनन् ।
विल्सनले गत सोमबार नयाँ फिल्म ‘मैझारो’ बनाउने घोषणा गरे । उनको सक्रियता हेर्दा ‘मैझारो’ चाहिँ बन्ने देखिन्छ ।
संयोग कि कथाको माग ?
विल्सनले नायक धिरज मगरसँग गरेको कागजी सम्झौता सार्वजनिक गरी गत सोमबार फिल्म निर्माणबारे जानकारी दिएका हुन् ।
यो आइतबारसम्म आइपुग्दा तीन शीर्ष कलाकार चयन भइसकेको छ।
गत साता नै नायिका मिरुना मगर फिल्ममा अनुबन्ध भएको निर्माण पक्षले सार्वजनिक गरेको थियो । यही आइतबार फिल्ममा दिया पुनले इन्ट्री गरेकी छन् ।
रोचक त के छ भने अहिलेसम्म फाइनल सबै तीन शीर्ष कलाकार मगर समुदायका हुन् ।
फिल्ममा कुन कलाकारलाई अभिनय गराउने त्यो विल्सनको स्वतन्त्रताको कुरा हो । उनले त्यही अधिकार लिएर कलाकार चयन गरिरहेका छन् ।
तर, प्रश्न उठ्छ– कथाको मागअनुसार नै विल्सनले मगर समुदायका कलाकार अनुबन्ध गरेका हुन् कि यो संयोग मात्रै हो ? कि यो खास समुदायकेन्द्रित फिल्म हो ?
अहिले फिल्मको कथाबारे उनले विस्तृतमा नखुलाएकाले यसको जवाफ आएको छैन । आशा गरौँ, विल्सन आफैँले संयोग वा कथाको मागबारे प्रष्ट पार्नेछन् ।
पठाकलाई थाहा दिऊँ- एकै समुदायका कलाकार लिएर फिल्म बनाउने समस्याको विषय होइन । यो नितान्त निर्देशकको स्वतन्त्र निर्णयको अधिकार हो ।
‘कुस्ती‘को जोडी ‘मैझारो‘मा
धिरज र मिरुनाको पहिलो पटक सहकार्य गरेको फिल्म ‘कुस्ती’ हो । यही फिल्मका लागि मिरुनाले फिल्म ‘महाभोज’ छोडेको गसिप फिल्मी बजारमा छ ।
कुस्तीको छायाङ्कन गत चैतमा पूरा भएको हो । फर्स्ट लुक पोस्टरमा यसको प्रदर्शन मिति ०८२ को भदौ उल्लेख गरिएको थियो ।
भदौ नजिकिसक्दा पनि यो फिल्म प्रचारको काम सुरू भएको छैन ।
उक्त फिल्मको रिल जोडी भने अर्को फिल्म ‘मैझारो’ जोडिएको छ । पहिलो फिल्म प्रदर्शनम नआउँदै त्यही फिल्मको जोडी अर्कोमा अनुबन्ध भएको घटनालाई दुर्लभ मान्दा हुन्छ ।