टिकटदर मूल्यांकनमा चुक्यो विकास बोर्ड, ‘लुट’ सम्मानित नहुनुको कारण यस्तो !

सेयर गर्नुहोस्

नेपाल समाचार 

-चलचित्र विकास बोर्डले हालै ‘अल टाइम हिट’ २५ फिल्मको सूची सार्वजनिक गर्‍यो । तर, तीमध्ये ६ वटा फिल्मको टिकटसङ्ख्या उल्लेख गरेको छ ।

बोर्डले टिकट बिक्रीलाई भन्दा ग्रस कलेक्सनलाई आधार मानेरै हिट फिल्मको सर्ट लिस्ट तयार गरेको थियो । ०७१ सालमा प्रदर्शनमा आएको ‘कबड्डी’, ‘कोहिनूर’, ०७२ मा प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी’, ०७३ मा प्रदर्शनमा आएको ‘छक्का पञ्जा’, ०७४ मा प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ र ‘शत्रु गते’ सहितका ६ फिल्मको टिकट बिक्री सङ्ख्या बोर्डको रेकर्डमा छैन ।

यी फिल्म प्रदर्शनमा आउँदा नेपालमा बक्स अफिस प्रणाली लागु नभएकाले बोर्डसँग टिकट बिक्री सङ्ख्याबारे यकिन तथ्याङ्क नभएको हो ।

०७५ सालमा मात्रै नेपालमा बक्स अफिस प्रणाली लागु भएको हो । बोर्डले आफ्नो २५ औं वार्षिक उत्सवमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने २५ फिल्मलाई सम्मान गरेको थियो ।

‘छक्का पञ्जा ४’ लाई बोर्डले हिट फिल्मको चौथौ स्थानमा राखेको छ । यसको ६ लाख २४ हजार टिकट बिक्री भएको छ ।

बोर्डले ‘जारी’ लाई हिट फिल्मको पाँचौं स्थानमा राखेको छ । यसको टिकट बिक्री सङ्ख्या ‘छक्का पञ्जा ४’को भन्दा एक हजारले बढी छ ।

फिल्म ‘छ माया छपक्कै’भन्दा ‘बोक्सीको घर’को टिकट बिक्री ६९ हजार १०२ ले कम छ । तर, ‘छ माया छपक्कै’ लाई बोर्डले सूचीको १५औँ स्थानमा राखेको छ ।

चलचित्र ‘बोक्सीको घर’ १४ औंं स्थानमा छ । त्यस्तै, ३ लाख ३१ हजार टिकट बिक्री भएको ‘छक्का पञ्जा ३’ लाई बोर्डले १९ औं स्थानमा राखेको छ ।

त्यो भन्दा कम टिकट बिक्री भएका ‘परदेशी २’, ‘अञ्जिला’, ‘दिमाख खराब’ क्रमशः १८, १७ र १६ औं नम्बरमा छन् । अर्थात्, यी तीनको भन्दा बढी टिकट बिक्री ‘छक्का पञ्जा ३’को छ । ‘दिमाख खराब’भन्दा ‘छक्का पञ्जा ३’को टिकट ३१ हजारले बढी बिकेको छ ।

अर्थात्, बोर्डले टिकट बिक्री सङ्ख्या भन्दा ग्रस कलेक्सन अङ्कलाई ध्यान गरेर हिट किटान गरेको हो । जुन कुरा बोर्डले पनि भन्दै आएको छ ।

बोर्डले सम्मान गरका फिल्महरुको सूची

‘लुट’ किन परेन हिटको सूचीमा ?

निश्चल बस्नेतको निर्देशनमा बनेको फिल्म ‘लुट’ ०६८ सालमा प्रदर्शनमा आएको थियो ।

त्यसबेलाको यो ‘बल्कबस्टर’ फिल्म हो । सुस्ताएको नेपाली सिनेमा बजारलाई ‘लुट’ले पुनर्जागृत गराएको भन्ने विश्लेषण पनि सुन्न पाइन्छ ।

‘लुट’ बोर्डको उक्ट हिट फिल्मको सूचीमा परेन । बोर्डको सूचीमा नपर्दा धेरैले यस फिल्मबारे चासो राखेका छन् ।

बोर्डको सूचीको अन्तिममा अर्थात् २५ औं स्थानमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ छ । यसको व्यापार सात करोड ३२ लाख रुपैयाँ छ ।

‘लुट’ले ग्रस कलेक्सन ‘भष्मे डन’को भन्दा पनि कम रहेको निर्देशक निश्चल बस्नेत बताउँछन् । उनका अनुसार ‘लुट’ले ६ करोड रुपैयाँभन्दा केही बढी मात्रै ग्रस कलेक्सन गरेको छ ।

तर, नौ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरे पनि यो बोर्डले सार्वजनिक गरेको हिट फिल्मको सूचीमा ‘लुट २’ नपरेको निर्देशक निश्चलले खुलाए ।

उनले भने, ‘लुट २ सूचीमा हुनुपर्ने हो भएन । मैले बोर्डका सम्बन्धित पदाधिकारीलाई नै यो कुरा जानकारी गराएको छु ।’

‘ए मेरो हजुर ३’का निर्माताको दाबी

‘ए मेरो हजुर ३’ ०७५ चैतमा प्रदर्शनमा आएको हो । यही वर्षदेखि नेपालमा बक्स अफिस प्रणाली लागु भएको हो ।

यस फिल्ममा नायक अनमोल केसी र नायिका सुहाना थापा छन् । अनमोल र यो फिल्म निर्माण टिमसँग नजिक रहेका व्यक्तिहरू भन्छन्, ‘अनमोलको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ए मेरो हजुर ३ नै हो ।’

निर्माता सुनीलकुमार थापालाई यस फिल्मको ग्रस कलेक्सनबारे सोधेको थियो । उनले यसको ग्रस कलेक्सन आठ करोड रुपैयाँभन्दा माथि रहेको बताए ।

यसको प्रमाण दिनसक्नुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘यो फिल्म प्रदर्शनमा आउँदा बक्स अफिस प्रणाली सुरु भएको थियो । बोर्डसँगै छ नि यसको तथ्याङ्क ।’

अरू हिट फिल्म पनि सूचीमा नपरेका हुन् ?

गत असार १ गते बोर्डले पछिल्लो २५ वर्षमा प्रदर्शनमा आएका २५ हिट फिल्मलाई सम्मान गर्ने सूचना जारी गरेको थियो ।

त्यही सूचनामार्फत बोर्डले ५ करोडभन्दा बढीको व्यापार गर्ने फिल्मका निर्मातालाई ग्रस कलेक्सनको प्रमाण खुल्ने कागजातसहित निवेदन पेस गर्न आग्रह गरेको थियो ।

निर्देशक निश्चल बस्नेत बोर्डको उक्त सूचना थाहा नपाएर निवेदन नदिएको बताउँछन् । उनी भन्छन्, ‘खै सूचना निकालिएको थाहै भएन मलाई ।’

त्यस्तै, निर्माता सुनीलकुमार भने ‘आफूलाई सम्मान गर’ भनेर निवेदन दिन मन नलागकेको तर्क गर्छन् ।

भन्छन्, ‘बोर्ड आफैँसँग तथ्याङ्क छ र हुनुपर्छ । मलाई सम्मान गर्नु है भनेर हामीले आफैँले निवदेन दिनुपर्ने प्रक्रिया मलाई ठीक लागेन ।’

अर्थात्, केहीले सूचना थाहा नपाएको र केही निर्माताहरू प्रक्रियामा जान नचाहेको भेटिएको छ । निश्चल र सुनीलकुमार जस्तै अरू व्यक्ति नहोलान् भन्न सकिन्न ।

निश्चल र सुनीलको प्रतिक्रियाले साढे सात करोडभन्दा माथि व्यापार गर्ने केही फिल्म उक्त हिटको सूचीमा प्रक्रियागत प्रावधनाले समावेश नभएको सन्देश जान्छ ।

तर, कुनै निर्माताहरू खुलेर यसबारे बालेका छैनन् । एक निर्माता भन्छन्, ‘साढे सात करोडमाथि व्यापार गर्ने मेरो फिल्म पनि छ । ८–१० वर्ष पूरानो हिसाब अहिले कसरी ल्याउनु ?’

बोर्डले नबुझेको कि बुझ पचाएको ?

चलचित्र विकास बोर्डले ०५७ सालयता अर्थात् विगत २५ वर्षमा प्रदर्शनमा आएका २५ फिल्मको सर्ट लिस्ट निकालेको हो ।

अहिले मल्टिप्लेक्समा एक टिकटको दर ४०० रुपैयाँ छ । २५ वर्षअघि एक टिकटको दर कति थियो ? त्यसबेला टिकट दर स्वभाविक रूपले १०० रुपैयाँभन्दा कम थियो ।

मानौँ, उक्त टिकरदर भएको बेला कुनै फिल्मले तीन करोडभन्दा बढी ग्रस कलेक्सन गर्नु भनेको अहिलेको अवस्थामा १२ करोड रुपैयाँ हाराहारीमा व्यापार गर्नु हो ।

धेरै परको चर्चा नगरौं । लुटको उदाहरण लिँदा हुन्छ । प्रदर्शनमा आएको १४ वर्ष भयो । त्यसबेला टिकट मूल्य अहिलेको आधाभन्दा कम थियो ।

अहिलेको टिकदर र त्यसबेलाको टिकदरको मूल्याङ्कन गर्ने हो भने ‘लुट’को ग्रस कलेक्सन १२ करोड रुपैयाँ नाघ्छ ।

निश्चल बस्नेतको पनि मत यस्तै यस्तै छ। उनी खुलेरै अङ्क भन्न नरुचाए पनि भन्छन्, ‘त्यसबेला टिकट दर निकै कम थियो । टिकटदर मूल्याङ्कन गर्ने अहिलेको हिसाबले ग्रस कलेक्सन निकै बढी आउँछ ।’

फिल्म क्षेत्रबारे लामो समय रिपोर्टिङ गरेर अहिले चलचित्र विश्लेषण र लेखकको परिचय बनाएका सामाप्यिराज तिम्लसेना पनि बोर्ड टिकट मूल्याङ्कन गरेर सर्ट लिस्ट तयार गर्न चुकेकै मत राख्छन् ।

यसलाई उनी बोर्डको लापर्वाहीका रूपमा लिन्छन् । उनी प्रश्न उठाउँछन्, ‘बोर्ड फिल्म क्षेत्रलाई नियमन गर्ने सरकारी निकाय हो । बढेको टिकट दर र पूरानो टिकट दर बोर्डले मूल्याङ्कन नगरे कसले गर्ने ?’

बोर्डले टिकटदर मूल्याङ्कन नगरेर केही मेकरहरूको अपमान गरेको सामिप्यको बुझाइ छ ।

उनी भन्छन्, ‘बोर्डलाई अङ्क गनेर मात्रै सर्टलिस्ट गर्ने छोटोबाटो अपनाउने छुट छैन । कम्तिमा टिकटदर मूल्याङ्कन गरेर फिल्महरूलाई सम्मान गर्नुपर्थ्यो । यो नगर्दा पूराना हिट फिल्म सूचीमा परेका छैनन् । यो ती मेकहरूका लागि अपमानको कुरा हो ।’

बोर्डको टिकट मूल्याङ्कन नगरेकै कारण सर्ट लिस्टमा ७० पछिका मात्रै फिल्म परेको उनको विश्लेषण छ ।

(Visited 5 times, 5 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *