वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि ‘रातो पासपोर्ट’मा निर्माता बने तामाङ

सेयर गर्नुहोस्

नेपाल समाचार
–वैदेशिक शिक्षा र रोजगारीको सपना पूरा गर्न संघर्षरत युवाहरूको कथामा फिल्म ‘रातो पासपोर्ट’ निर्माण हुँदै छ ।

सुखी परिवारको कल्पना गरेर विदेशमा पुगेको युवाले सफलता चुम्न गर्ने मेहनत र त्यसभित्रको संघर्षको पाटोलाई यो फिल्मले चित्रण गर्दैछ । फिल्मलाई विगत सात वर्षदेखि युरोपको पोर्चुगलमा बस्दै आएका लोकबहादुर तामाङले निर्माण गर्दैछन् ।

सिमसोन तामाङले यो फिल्मलाई निर्देशन गर्दैछन् । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने संघर्षको कथालाई दर्शकमाझ पुर्‍याउन फिल्म निर्माणमा हात हालेको तामाङको भनाई छ ।

त्यसो त एक समय मोडलिङमा करियर सुरु गरेर फिल्ममा स्थापित अभिनेता बन्ने सोच बोकेका तामाङ अब निर्माणमा जुटेका हुन् ।

‘चलचित्र समाजको ऐना पनि हो, हजारौँ किताबले बदल्न नसकेको समाज एउटा चलचित्रले बदलिदिन्छ’, तामाङ भन्छन्, ‘ रातो पासपोर्टको कथामा आफैलाई देखेपछि, विदेशी नागरिकता पाउन संघर्ष गर्ने हरेक नेपालीलाई देखेपछि यो कथा फिल्मकै माध्यमबाट धेरै दर्शकमाझ पुर्‍याउनुपर्छ भनेर निर्माणमा हात हालेको हुँ।’

सिबड्र्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीपकुमार चौधरीले तयार पारेका छन् ।

यो फिल्ममा प्रवेश पौडेल कार्यकारी निर्माता रहनेछन् । फिल्मको छायांकन पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा गरिनेछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *