पहिरोले अभिभावक गुमेपछि बेसहारा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-०९

सबेरै केही बालबालिका गाउँभन्दा पर लप्से मैदानमा डुल्न गएका थिए । गत साउन ३० गते बिहान ६ बजेतिर सातो उड्ने गरी ड्याङड्याङ आवाजसँगै पहिरो खस्यो । जुगल–२ को लिदीबीचका १७ घर एकै पटक बगे । सिंगो गाउँ क्षणभरमै पहिरोमय बन्यो । बालबालिका रुँदै घर भएतर्फ दौडन थाले ।

एकैछिनमा कोलाहल मच्चियो । आँखै अगाडि दुईतले घर, आमा र दाइलाई पहिरोले छोपेको १० दिनपछि पनि सम्हालिन नसकेकी १५ वर्षीया स्मारिका दोङले भनिन्, ‘पहिरोले छोप्ने बेलामा आमा घरभित्रै हुनुहुन्थ्यो । म आत्तिएर उहाँलाई बोलाउन जान खोजेँ, अरूले रोके ।’
स्मारिकाले पहिरोमा बेपत्ता ४६ वर्षीया आमा सोममाई भेटिने आशा मारेकी छैनन् । पहिरोले पुरिएर घाइते भएका बुबा साङ्बो चौतारा साँगाचोकगढी नगरको चौतारा अस्पतालमा उपचार गराइरहेका छन् । बुबा शारीरिक रूपमा अशक्त भएकाले आफूसहित भाइ अलपत्र परेको स्मारिकाले बताइन् । ‘हामीलाई पढाउने, हुर्काउने आमा नै हुनुहुन्थ्यो, अब कसले पाल्छ, कसले पढाउँछ ?’ उनले भनिन् । उनका २२ वर्षीय दाजु अजयको शव भेटिएको छ ।

पहिरोले पुरिएर बुबा हीरा दोङ र अन्य आफन्त गुमाएपछि २० वर्षकी सविता, १८ वर्षकी दुर्गा, १५ वर्षका कान्छा र १२ वर्षकी कविता अभिभावकविहीन भएका छन् । बुबाको सम्झनामा पहिरोछेउ पुगेर टोलाइरहने उनीहरूलाई अहिले खाना र बासको चिन्ताले गाँज्न थालिसकेको छ । ‘पालमा बस्छौं, दिदीले पकाएको खान्छौं, कतिन्जेल यसरी बस्नुपर्ने हो थाहा छैन,’ कविताले भनिन्, ‘बुबा फर्किनुभए हुनेथियो, बुबा साँच्चै आउनुहुन्न र ?’

अहिले राहतमा पाएको पालमा बालबालिका बसिरहेका छन् । ‘कतिपय बालबालिकालाई आफ्नो बाबुआमा बितेको र आफू टुहुरो भएको पनि थाहा छैन । थाहा पाए त हामीजस्तै आत्तिएर रुँदा हुन्,’ सविताले भनिन् । पहिरोले आमालाई खोसेपछि अन्योलमा परेका १७ वर्षका साङे दोङ, १५ वर्षका साइँला र ७ वर्षका साङ्जु दोङ छिमेकी बालबालिकासँगै खेलिरहन्छन् । ‘आमाको याद आइरहन्छ । हाम्रो घर भएको ठाउँ त पहिरोले पुरिएको छ । आमालाई पनि पहिरोले पुर्‍यो रे,’ साइँलाले भने ।

स्थानीय अगुवा फूलकाजी स्याङ्बोका अनुसार लिदी पहिरोमा आमाबाबु गुमाएर बेसहारा बनेका बालबालिका १४ जना छन् । उनीहरू अहिले छिमेकीकहाँ बसिरहेका छन् । ‘कसैका आमा छैनन्, कसैका बाबु । विपन्न वर्गका यी बालबालिकाको भविष्य एकदमै अन्योलमा परेको छ,’ स्याङ्बोले भने । पहिरोमा बेपत्ता ३९ मध्ये ३३ जनाको शव फेला परेकामा १७ जना बालबालिका छन् ।

जुगल–२ का वडाध्यक्ष प्रताप लामाले बालबालिकाको व्यवस्थापनका लागि अहिलेसम्म कुनै योजना बन्न नसकेको बताए । ‘अहिले उनीहरू मानसिक त्रासमा छन् । गाँस, बासको व्यवस्था मात्रै भएको छ । अब केही गर्नुपर्ला,’ लामाले भने ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *