पूर्वमन्त्री चौधरी : लुम्बिनी सरकार बजेट खर्च गर्न असफल

सेयर गर्नुहोस्

नेपाल समाचार। १६.१२.२०७८

लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले वर्तमान सरकार वजेट खर्च गर्न असफल र निकम्मा भएको बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले गरेको पत्रकार सम्मेलनमा संसदीय दलका उपनेता चौधरीले अहिलेको सरकारले एकातिर पुँजीगत खर्च २०–२२ प्रतिशत मात्र गरेको अर्कोतिर झण्डै डेढ अर्ब रुपैयाँ दायित्व सिर्जना गरेको बताए ।

अघिल्लो सरकारले सुरु गरेका सिँचाइका ४४ वटा योजनामध्ये अधिकांश सम्पन्न भई ठेकदारले दुई महिनाअघि नै भुक्तानी मागेपनि सरकारले भुक्तानी दिन नसकेको चौधरीले बताए । चौधरीका अनुसार सिँचाइका योजनाहरुको मात्रै ४१ करोड ४० लाख र खानेपानी योजनाको १ अर्ब रुपैयाँ प्रदेश सरकारलाई दायित्व सिर्जना भएको छ ।

‘एकातिर पुँजीगत खर्च २०–२२ प्रतिशत भन्दा धेरै हुन सकेको छैन, अर्कोतिर यति धेरै रकम पेमेन्ट हुन बाँकी छ’, पूर्ववर्ती सरकारका प्रवक्ता समेत रहेका चौधरीले भने, ‘आन्तरिक रकमान्तर कसरी हुन्छ भन्ने जानकारीसम्म थाहा छैन अनि फाइल रोकेर बसेको छ सरकार ।’

अहिलेको सरकारले वहुवर्षीय योजनाहरु अलपत्र पारेर ५ लाख र १० लाखका १२ सय योजनामा रकम बाँडेर उपभोक्ता समितिमार्फत काम गराउन खोजेको नेता चौधरीले बताए । ‘हामीले ३ अर्ब सशर्त अनुदान ल्याएका थियौं, यो सरकारले एक रुपैयाँ ल्याउन सकेको छैन’, चौधरीले भने, ‘निकम्मा सरकारले के गरी खान्छ ?’

प्रदेशको स्थायी राजधानीका पूर्वाधारका लागि आएको विशेष अनुदान समेत यो सरकारले खर्च गर्न नसकी फ्रिज हुने अवस्था आइसकेको चौधरीले बताए । सरकारले डिभिजन इन्जिनियरहरुको मनपरी र पटक पटक सरुवा गरेर कर्मचारीलाई काम गर्ने र वजेट खर्च गर्ने वातावरण नदिएको नेता चौधरीले बताए ।

(Visited 37 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *