नेपाल समाचार। ३०.११.२०७८
पोखरा – यसै साता युट्युबमा सार्वजनिक भएको प्रकाश सपुतको नयाँ गीत ‘पीर लाई धेरै मानिसहरुले मन पराएको छन् भने यस गीतले धेरै विवाद पनि सिर्जना गरेको छ । गायक प्रकाश सपुतको उक्त गीतविरुद्ध धेरैजसो नेकपा माओवादी कार्यकर्ता खनिएका छन् । आइतबार बेलुका माओवादी केन्द्र सम्बद्ध चार भातृ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई तत्काल युट्युबबाट हटाउनुपर्ने अडान कायमै राखेका छन् ।
सपुतको नयाँ गीत “पीर” लाई लिएर विवाद सिर्जना भएपछि सपुतले प्रष्टीकरण दिएका छन् ।
सपुतले भने ‘वास्तविक पात्र, स्वभाव र सोचको अध्ययन गरेर नै गीत तयार पारिएको छ ।’ भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उनले बताए । उनले भने माओवादी ‘जनयुद्ध’लाई लिएर सार्वजनिक सञ्चारमाध्यममा समेत टीकाटिप्पणी हुँदै आएको र आफूले तिनै विषयवस्तुलाई गीतमा चित्रण गरेको हो । ‘यी कुराहरु मिडियामै भनिएका र समीक्षा गरिएका कुरा हुन्,’ उनले थपे ।
तर उनले पूर्वछापामार युवती देहव्यापारमा संलग्न भएको दृश्यप्रति भने आत्मालोचना गरे । ‘केही बढी कोट्याइएको एउटा दृश्य छ । त्यसलाई प्रतीकात्मक रुपमा राखिएको हो । कसैको आत्मसम्मानमा ठोस पुग्न सक्ने महसुस गरेको छु । यसमा मैले आत्मालोचना गर्छु,’ उनले भने ।
गीतलाई लिएर प्राप्त भइरहेका सबै प्रतिक्रियालाई अध्ययन गरिरहेको सपुतले बताए । ‘मैले गलत बुझेको हो कि तपाईंहरुले, समीक्षा गर्दैछु,’ उनले भने । साथै, राजनीतिक पूर्वाग्रह राखेर गीत निकालेको भन्ने आरोपको पनि उनले खण्डन गरे ।