नेपाल समाचार। ०४/११/२०७८
पोखरा – आज गरेको नेपाल बन्दको प्रभाव कास्कीमा पनि परेको छ । ५ वटा कम्युनिस्ट पार्टी र एक मोर्चाले एमसिसी सम्झौताविरुद्ध गरेको बन्दका कारण पोखरामा निजी सवारीसाधन फाटफुट रूपमा चलेका छन् भने सार्वजनिक यातायातका साधनहरू कमै मात्रामा चलेका छन् ।
पोखरामा सवारीसाधन मात्र नभएर मुख्य बजार क्षेत्रका पसलहरू पनि बन्द रहेका छन् । भित्री सडक खण्डमा पसलहरू केही मात्रामा खुलेका छन् । सुरक्षाकर्मीहरु मुख्य मुख्य चोकमा तैनाथ गरिएको छ ।
कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभए अनुसार पोखरासहित कास्कीका एक दुई स्थानमा बिहानै बन्दकर्ताले टायर बालेर विरोध जनाएको भए पनि तत्कालै आगो निभाएर टायर जलाउन रोक लगाइएको छ । जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई बलियो पार्न ठाउँ ठाउँमा सुरक्षाकर्मी खटिएको र गस्ती समेत बढाइएको डिएसपी तिवारीले बताउनुभयो । जिल्लामा बन्दका क्रममा शङ्कास्पद गतिविधि गर्ने एक जनालाई नियन्त्रणमा लिइएको डिएसपी तिवारीले बताउनुभयो ।
‘हामीले कास्की जिल्लाको सुरक्षा स्थिति मजबुत पारेका छौँ । लामो दुरीका २०/३० प्रतिशत सवारीसाधन चलेका छन्, छोटो दुरीका निजी सवारीसाधनहरू पनि चलेका छन् । बजारमा केही मात्रामा पसलहरू खुलेका छन्’, समग्रमा कास्कीको अवस्था सामान्य छ, ढुक्क भएर आफ्नो दिनचर्यामा लाग्न हाम्रो सर्वसाधारणमा अनुरोध छ’, डिएसपी तिवारीले भन्नुभयो। कास्कीमा कुनैपनि घटना नघटेको र अवस्था शान्तिपूर्ण रहेको तिवारीको भनाई छ । जिल्लामा बन्दका क्रममा शङ्कास्पद गतिविधि गर्ने एक जनालाई नियन्त्रणमा लिइएको डिएसपी तिवारीले बताउनुभयो ।