नेपाल समाचार। ०४/११/२०७८
काठमाडौँ – अमेरिकी अनुदान सहयोग परियोजनामा एमसीसीविरुद्ध नेकपा माओवादी केन्द्र उभिएको छ । माओवादी केन्द्रले आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा विरोध गर्ने जनाएको छ । उसले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन र सडकबाट पनि दबाव दिने निर्देशन दिइसकेको छ । आज माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्ने पार्टीले जनाएको छ ।
संसदमा एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले विरोध जनाउने पार्टी अध्यक्ष प्रचण्ड निकट माओवादी केन्द्रका एक नेताले बताए । ‘हामी स्पष्ट रुपमा एमसीसीको विरोधमा छौं ‘ प्रतिनिधि सभा सदस्यसमेत रहेका नेताले भने । दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्नुअघि बिहान १० बजे बोलाइएको संसदीय दलको बैठकले त्यसै अनुसारको निर्णय गर्ने ती नेताको भनाइ छ ।
एमसीसीकोविरुद्धमा माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जनवर्गीय संगठनहरुलाई सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार आज बिहान ११ बजे नयाँबानेश्वरमा भेला भएर विरोध प्रदर्शन गर्न लागेको वाईसीएलका नेता सुवोध शेर्पालीले बताए ।
‘महिला, विद्यार्थी, युवा, मजदुर लगायतका पार्टीका सबै जनवर्गीय संगठन भेला भएर विरोध प्रदर्शन गर्छौं’ शेर्पालीले भने, ‘यो पार्टीले दिएको निर्देशन अनुसार हो ।’