नेपाल समाचार। ०१/१०/२०७८
हालैमात्र आमा बनेकी पञ्जाब किंग्सकी सहमालिक प्रीति जिन्टा भारतको बैंगलोरमा हुन लागेको इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा उपस्थित नहुने भएकी छन् । प्रीतिले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै आफ्ना जम्ल्याहा सन्तानलाई एक्लै छोड्न नसक्ने भएकाले अक्सनमा उपस्थित हुन नसक्ने कारण पनि उल्लेख गरेकी छन् ।
आइपिएल अक्सनको एक पुरानो तस्बिर राख्दै उनले लेखेकी छन् ‘यो वर्ष म आइपिएल अक्सनको हिस्सा हुन पाउने छैन । किनकि मेरा आफ्ना सन्तानहरूलाई छोडेर भारत आउन सक्दिनँ । एक साता यता हाम्रो टिम लिलामी र क्रिकेटको सबै कुरामा चर्चा गर्न व्यस्त छौं’,। उनले आफ्ना फ्यानलाई कोही खेलाडी अथवा आफ्नो टिममा कसैलाई राख्न चाहने हो भने सिफारिस गर्न सुझाव दिएकी छन् ।
विवाहको पाँच वर्षपछि प्रीति र उनका पति गत वर्ष नोभेम्बरमा सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानको आमा बुबा बनेका छन् । आमा बनेपछि उनी सन्तानको स्याहारसुसारमा व्यस्त छिन् । जीन गुडइनफको घरमा सन्तानको आगमन भएको हो ।