नेपाल समाचार। २८/१०/२०७८
‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तेस्रो संस्करण, नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै छ । स्टार वान इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२२’ का लागि आयोजकले फारम खुल्ला गरेका छन् । आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले अवार्डमा भाग लिन चाहनेहरूका लागि बिहीबारबाट फारम खुला गरिएको जानकारी दिएकी छिन् । फारम आगामी ५ चैतसम्म भरिसक्नुपर्नेछ ।
सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वरबाट फारम लिएर भर्न सक्ने छन् । अवार्डको आयोजना नयाँ वर्षको अवसर पारेर आगामी वैशाखमा गरिने भएको छ ।यो अवार्डमा सहभागी हुन चाहने गीतहरू सन् २०२१ जनवरीबाट सन २०२२ जनवरी अन्त्यसम्म रिलिज हुनुपर्ने आयोजक पक्षले जनाएको छ । अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरूले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।
संगीत, मोडलिङ र फेसनमा आजीवनमा योगदान दिएकालाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ,कार्यक्रम निर्देशक बालकृष्ण पोखरेले बताए ।