नेपाल समाचार। २८/१०/२०७८
काठमाडौँ- यही माघ ८ गते ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । सुनाकोठीवासीले हराएको बालकुमारी माईको मूर्ति भेटिएपछि बाजागाजा सहित सिन्दुर जात्रा गरेका छन् । मूर्ति भेटिएको समाचार सार्वजनिक भएलगत्तै सुनाकोठीवासी बाजागाजासहित जावलाखेल आएका थिए ।
आज बिहान (शुक्रबार) प्रहरीले खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर जावलाखेल ल्याएको थियो ।
प्रहरीले गुठीका प्रतिनिधिहरुलाई मूर्ति हस्तान्तरण गरेपछि स्थानीयले बाजागाजा र अबिर लगाइदिंदै खुसी साटे । उक्त मूर्तिलाई सुनाकोठी नै लगिएको छ ।
प्रहरी प्रशासनको दबावमूलक अनुसन्धान, प्राथमिकता र स्थानीयको जागरुकताको कारण मूर्ति फेला परेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।
पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति यही माघ २८ गते भेटेको छ ।