नेपाल समाचार – १९/१०/२०७८
लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै होमस्टे, मन्दिर, पार्क र ‘रक क्लाइम्बिङ’ का लागि २५ लाख रुपैयाँ बाँडेको छ । रकमबाट आवश्यकता अनुसार संरचना निर्माण, पूर्वाधार विकास तथा विविध क्रियाकलाप गर्न पाइनेछ त्यसैगरि दुई वटा ‘रक क्लाइम्बिङ’लाई पनि बजेट दिइएको छ ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए अनुसार भलामचौर होमस्टे, घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, भुष्मे होमस्टे र खानीगाउँ (रक गार्डेन) होमस्टेलाई २ लाखका दरले बजेट विनियोजन गरिएको छ ।
घनपोखरका तेम्रो झरना पर्यटन विकासका लागि बान्द्रेभिर ‘रक क्लाइम्बिङ’अध्ययनका लागि एक लाख र मर्स्याङदी ४, च्याम्चेमा रहेको तारेभिर ‘रक क्लाइम्बिङ’ लाई पाँच लाख बजेट दिइएको छ । भिरपुस्तुन कालिका मन्दिर संरचना निर्माणका लागि दुई लाख, पालिका अन्तर्गत आवश्यकीय पर्यटन प्रवर्द्धनका लागि एक लाख र ताङलीचोकमा रहेको डा. हर्क गुरुङ पार्क प्रवर्द्धनका लागि दुई लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले जनाएको छ ।
पर्यटकीय गन्तव्य हर्सिङ डाँडामा खानेपानी तथा शौचालय संरचना निर्माण तथा व्यवस्थापनका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।