नेपाल समाचार।१६/१०/२०७८
इजिप्ट- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । भुजेलले यसअगाडि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन् । इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताजसहित उक्त प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाले छानेको हो । ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । भुजेललाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुका ग्रुमिङ गरिनेछ ।
शनिबार स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । भुजेललाई मिस इको इन्टरनेशनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाइ दिएकी हुन् । रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् । भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेशनल २०२२’ को शीर्ष उपाधि जित्न सक्ने विश्वास आफुलाई लागेको ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।
मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल लगायतको उपस्थिति रहेको कार्यक्रममा धुम्बाराही निवासी २६ वर्षीया भुजेलले प्रतियोगितामा नेपालका कल्चरल, साँस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताइन् ।