डोटी जिल्लामा रुघाखोकी तथा ज्वरोका बिरामी बढे

सेयर गर्नुहोस्

नेपाल समाचार- ०६/१०/२०७८

डोटी- चिसो बढेसँगै डोटी जिल्लामा रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको र दैनिकजसो सयौँको संख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए । उनले भने, ‘चिसो बढेको छ, बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँका सङ्ख्यामा उपचारका लागि आउने गरेका छन्, बिरामीको भीड लागेको छ ।’

रुघाखोकी तथा ज्वरो भएका बिरामीले पिसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै यहाँका गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पिसीआर पनि जाँच नगर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यसैगरी जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दैनिकजसो ५० देखि ६० जनाजम्म आउने गरेको अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् ।

गाउँघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छाएको जोरायल गाउँपालिका–५ गड्सेरा स्वास्थ्यचौकीका अनमी विद्यी भण्डारीले बताइन् । उनले भनिन्, ‘गाउँ–गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढी छन्, कोरोना संक्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छ, जाँच कसैले गर्दैनन् ।’

जिल्लामा केही दिनयतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, सिन्कौलीको पात, तुलसीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् । चिसो मौसम सुरु भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ । जिल्लामा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना संक्रमण पनि बढ्दै गएका खबरले यहाँका नागरिकमा चिन्ता छाएको बताइएको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *