नेपाल समाचार। २२/०९/२०७८
आहा रारा गोल्ड कप प्रतियोगिताको आयोजक संस्था सहारा क्लव पोखराले एक विज्ञप्ती मार्फत प्रतियोगिताको मिती घोषणा गरेको हो । पोखराको वहुप्रतिष्ठित आहा ! रारा फुटबल गोल्ड फुटबल प्रतियोगिता आगामी माघ ६ देखि १५ गते सम्म हुने भएको छ । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई पर्यटन सहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ उक्त मितिमा खेल सञ्चालन गर्ने समय तालिका अखिल नेपाल फुटबल संघ (एन्फा)बाट प्राप्त भएको संस्थाका महासचिव रामजीप्रसाद अधिकारीले जनाएका छन् ।
प्रतियोगितामा मोफसलका टिमहरु, विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिसन डाउल्ला, क्यामरुङ्ग रहेको थियो ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । वर्ल्ड लिंक, पोखरा महानगरपालिका, सिताज् सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की, अफिसियल बैंक लुम्बिनी विकास बैंक, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा क्लब हङ्गकङ्ग,सहारा क्लब अष्टे«लियाले सहयोग गर्ने विज्ञप्तीमा जनाइएको छ ।
उक्त प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ३६ लाख १ हजार रुपैयाँ र कुल अनुमानित खर्च १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ अनुमादन गरिएको छ । प्रतियोगिता क्याराभान गोल्डकप सहित २० वर्षदेखि निरन्तर संचालन भएको यस प्रतियोगितामा बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ ।
प्रतियोगिताबाट बचत भएको रकम हाल तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु एकेडेमीमा आश्रित बालकहरुको पालन पोषण, फुटबल प्रशिक्षण तथा शैक्षिक उन्नयनमा खर्च गरिनेछ । उक्त एकेडेमीको संचालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको जनाउँदै सम्पूर्ण खेलप्रेमीहरुबाट विगतका वर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेको क्लवले जनाएको छ ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल, संघसंस्था, भातृ संगठन, व्यवसायी एवं खेलकुदप्रेमी दर्शक महानुभावबाट महत्वपूर्ण सहयोगको अपेक्षा र सद्भावको आशा राख्दै प्रतियोगिता अवधिभर बन्द, हड्ताल, चक्काजामको कार्यक्रम नराख्न क्लवले विशेष आग्रह गरेको छ ।