रस अनलाइन खबर आज २०७७-११-०५
१२ वर्षमा खोला पनि फर्किन्छ । उखानको खोला फर्कियो कि फर्किएन कसलाई के थाहा ? ‘फूलबुट्टे सारी सपक्कै पारी पछ्यौरी मलमलको…’ गीतका रचयिता तथा संगीतकार राजनराज सिवाकोटीलाई पनि पत्तो छैन ।
राजनको शब्द/संगीतमा मार्मिक लामाले स्वर भरेको यो गीतमा १२ वर्षपछि पाका कलाकार मदनकृष्ण श्रेष्ठको स्वर भरे । मिथिला शर्मा र मदनकृष्णको अभिनयसमेत रहेको यो म्युजिक भिडियो मंगलबार सार्वजनिक भयो ।
गीत सार्वजनिक समारोहमा मदनकृष्णले आफूले गीत गाउनै छाडिसकेको बताउँदै भने, ‘मलाई त गीतमा पुनर्जीवन मिलेजस्तो भएको छ ।’ २०४८ सालतिर आफ्ना जोडी हरिवंश र अन्य साथीसँग मिलेर मदनले सिम्फोनिक स्टुडियोमा लगानी गरेका थिए । त्यही स्टुडियोमा उनले ‘खोलावारि खोलापारि पीपल र बर, हावा चल्यो पात हल्यो माया वरवर…’ र ‘अर्बौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे …’ जस्ता चर्चित गीतहरू गाएका थिए । गीत/संगीतको यही पुरानो साइनोलाई सम्झिँदै मदनकृष्णले आधुनिक पुस्ताले गाएको गीत एउटा बेग्लै भर्सनमा आफूले गाउँदा गायन यात्रामा फेरि फर्किन्छु कि भनेझैं भएको बताए ।
जसरी मदनकृष्णलाई गायन यात्राको पुरानो दिनको सम्झना भयो, त्यसैगरी राजनलाई पनि मदनकृष्णको स्वरमा पुरानो गीतलाई नयाँ भर्सनमा बाहिर ल्याउँदा पुरानो समयको सम्झना भयो । १२ वर्षअघि ‘फूलबुट्टे’ गीत रेकर्ड गरेपछि उनले सीडीमा कपी गरेर एकाध साथीभाइलाई बाँडेका थिए । त्यतिबेला आफ्नो गीत कतिले सुने सुनेनन्, उनले ख्यालै गरेनन् । तर तीन वर्षअघि दमकका प्रतीक गुरुङले ‘फूलबुट्टे सारी’ को कभर सङ गाएपछि यो गीत चर्चामा आयो ।
कभर सङ सामाजिक सञ्जाल टिकटकमा भाइरल बन्न थालेपछि पो राजनले वर्षौं पुरानो आफ्नो गीत कसरी एकाएक चर्चामा आयो भनेर पत्तो पाए । त्यसपछि राजनले गत तिहारको छेको पारेर यही गीत फेरि मार्मिकलाई गाउन लगाए । अनि त यो गीत मन पराउनेहरूको अर्को लर्को थपियो । गीतको चर्चाले पुलकित बनेका राजनले यही गीतमा केही शब्द थपे र मिलन नेवारको स्वरमा यही गीतको फिमेल भर्सन निकाले । राजन यतिमै रोकिएनन् । उनले अरिस्मा सिवाकोटीको स्वरमा यही गीतको चिल्ड्रेन भर्सन पनि निकाले । अनि लिजेन्ड्री भर्सनमा मदनकृष्णको स्वर भरे ।
कोरोनाकाल अघिसम्म पनि मदनकृष्ण फिल्म, विज्ञापन र अनेकन सामाजिक कामको दौडधुपमा व्यस्त थिए । गायन यात्राको बाटो हुँदै प्रहसन यात्राको मूलधारमा हिँडेका मदनकृष्ण बेलाबेला गीत त गाउँथे तर उनले गीत र संगीतको बाटोमा धेरै हिँड्ने समय नै नपाएजस्तो देखिन्थ्यो । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘कोरोना सुरु भएपछि घरमै बन्धकजस्तै भइयो । अनि त गीत/संगीतमा समय दिन मौका पाएँ ।’ कोरोनाकालमै उनले नीर शाहको शब्द रहेको एउटा गीत र प्रकट पंगेनी शिवको शब्द रहेको अर्को गीतमा स्वर भरे ।
राजनले फूलबुट्टेको चिल्ड्रेन भर्सन गीतको सार्वजनिक गर्ने कार्यक्रममा मदनकृष्णलाई अतिथिका रूपमा बोलाएका थिए । त्यही कार्यक्रममा मदनकृष्णले गीतको मुखडा गाएर सुनाइदिएपछि राजनको मनमा लागिहाल्यो, गीतको अर्को भर्सन मदनकृष्णकै स्वरमा किन ननिकाल्ने । मदनकृष्णले सुनाए, ‘राजनले तपाईंको स्वरमा गीतको नयाँ भर्सन निकाल्ने भनेपछि सुरुमा त म हच्किएँ । तर उनले भनेपछि मैले नाइँ भन्न सकिनँ ।’ मदनकृष्णले गीत गाउने अभ्यासमा सुरुसुरुमा त आफूले सास नै पुर्याउन नसकेको तर अभ्यास गर्दै गएपछि फोक्सोले पनि साथ दिएको सुनाए । उनले भने, ‘पुराना दिनहरू फर्किएजस्तो भएको छ ।’
पार्किन्सन्सले गाँजेपछि मदनकृष्ण संगीतको यात्रामा कमै देखिए पनि उनले गीत लेख्न र गाउन चटक्कै छाडेका थिएनन् । यही रोगसँग जुध्न २०७३ मा शल्यक्रिया गरेर छातीमा पेसमेकर राखेका मदनकृष्णले लेखेका दुई गीत उनकी छोरी सरानाले गाएकी थिइन् । उनले भने, ‘भोलिका दिनमा गीत गाउन गाह्रो भए पनि गीत लेख्नचाहिँ छाड्दिनँ ।’
गीत सार्वजनिक समारोहमा महका ‘ह’ अर्थात् हरिवंशले हरेक महिना सालाखाला सयवटा गीत बाहिर आउने तर त्यसमध्ये दुई/चार मात्रै हिट हुने गरेको सन्दर्भ बताउँदै मदनकृष्णको स्वरमा रहेको गीत आम मान्छेले रुचाउने बताए । फूलबुट्टेको नयाँ भर्सनको भिडियोमा मिथिला शर्मा र मदनकृष्णले अभिनय गरेका छन् । हरिवंशले मदनकृष्ण र मिथिला शर्माको जोडी ‘रात’ र ‘सुखदु:ख’ जस्ता फिल्ममा जमेको सम्झना गर्दै यो म्युजिक भिडियोमा पनि जोडी साँच्चै जमेको बताए ।
कार्यक्रममा मिथिला शर्माले यो गीत सुन्दा आफूलाई पनि पुराना दिनको सम्झना भएजस्तो बताइन् । उनले भनिन्, ‘यो गीत २५ वर्षअघि नै मदनकृष्णले गाएजस्तो अनुभव भइरहेको छ ।’