दुई अलग खोप मिसाएर परीक्षण

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१०-२७

दुई फरक–फरक कम्पनीका कोरोनाविरुद्धको खोप दिँदा कत्तिको प्रभावकारी हुन्छ भनेर ब्रिटेनमा परीक्षण सुरु गरिएको छ । अहिले मानिसहरूलाई एउटै कम्पनीको खोपको दुई डोज दिने गरिएको छ ।

तर कुनै एक कम्पनीबाट भइरहेको खोप आपूर्तिमा व्यवधान उत्पन्न भएमा अर्को कम्पनीको खोप दिन उपयुक्त हुन्छ कि हुँदैन भन्ने सुनिश्चित गर्न यस्तो परीक्षण भइरहेको वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूले दुई फरक कम्पनीका खोपहरू दिँदा प्रतिरोधक क्षमता अरू राम्रो हुन सक्ने अपेक्षा पनि गरेका छन् । परीक्षणमा अहिलेसम्म कोरोनाविरुद्धको खोप नलिएका उमेर ५० वर्ष वा माथिका ८ सयभन्दा बढी स्वयंसेवकले भाग लिने बीबीसीले जनाएको छ । ती सहभागीले ४ देखि १२ साताको अन्तरमा अस्ट्राजेनेका र फाइजरले विकास गरेका फरक–फरक खोप लिनेछन् ।

बेलायतका खोपमन्त्री नधिम जहावीका अनुसार यस अध्ययनका लागि सरकारले करिब ७० लाख पाउन्ड प्रदान गरेको छ । अध्ययनको नतिजा आउन केही महिना लाग्ने भएकाले त्यतिन्जेलसम्म सरकारले कुनै नीति परिवर्तन नगर्ने पनि जहावीले बताएका छन् । बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडाले खोप बनाउने ४ वटा मेकानिजम हुने र फरक–फरक मेकानिजमका खोप मिसाउँदा मानिसको एन्टिबडी क्रियाशील पार्ने विश्वाससहित नयाँ परीक्षण गर्न लागिएको बताए । यस्तो अभ्यास यसअघि इबोला, दादुरामा पनि गरिएको थियो ।

सिम्खडाका भनाइमा फाइजर–बायोएनटेक आरएनए खोप हो, जसमा जेनेटिक कोड मानिसको शरीरभित्र पठाइन्छ भने अक्सफोर्ड अस्ट्राजेनेका खोप भाइरसलाई जेनेटिकल्ली मोडिफाइड गरी बनाइएको खोप हो, जहाँ मानिसको शरीरमा भाइरस नै पठाइन्छ । एउटाले नगरेको काम अर्कोले गर्न सक्ने र एउटै खोप आपूर्ति हुन अप्ठेरो हुने भएपछि यो उपाय आएको बुझ्न पनि सकिन्छ, सिम्खडाले भने ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरका अनुसार बेलायतमा शनिबार साँझसम्म १ करोड २१ लाख ४६ हजार ४ सय ७१ जनाले खोपको पहिलो डोज लिएका छन् । यहाँ हाल फाइजर–बायोएनटेक र अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित दुइटा खोप वितरण भइरहेको छ ।

यसैबीच, बेलायतमा निर्मित अक्सफोर्ड–अस्ट्राजेनेका खोप कोरोना भाइरस संक्रमण घटाउनमा प्रभावकारी बनेको एक अध्ययनले देखाएको छ । खोपको पहिलो डोज मात्रैबाट पनि संक्रमण न्यूनीकरणमा टेवा पुगेको पाइएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनले बेलायतमा अहिले भइरहेको खोप वितरणले भाइरसको संक्रमण घटाउन थालिसकेको देखाएको छ । खोपको एक डोज लिएका मानिसको स्वाब परीक्षणका क्रममा पोजिटिभ पाइने दर ६७ प्रतिशतले घटेको हो ।

अध्ययनमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार खोपको एकमात्र डोजले पनि ३ महिनासम्मका लागि ७६ प्रतिशतसम्म सुरक्षा प्रदान गर्छ । खोपको प्रभावकारितासम्बन्धी उक्त अध्ययन डिसेम्बर ७ अगावै खोप लिने मानिसमा गरिएकाले भाइरसको नयाँ प्रजातिको हकमा खोपको प्रभाव समान हुने/नहुने स्पष्ट हुन भने अझै बाँकी छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *