रस अनलाइन खबर आज २०७७-०४-२२
वीरगञ्ज– पर्सामा नीजी अस्पतालले विरामीको उपचारमा लापरवाही गरेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले विरामीको स्वास्थ्यमा खेलवाड गरे कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।
निर्देशनमा लेखिएको छ, ‘यस जिल्लाका विभिन्न निजी अस्पतालहरुमा उपचारका लागि आएका विरामीहरुलाई अस्पतालहरुले चेकजाँच तथा उपचार नै नगरी फिर्ता पठाउने गरेको भनी गुनासो आउने गरेको सम्बन्धमा छलफल गरियो । अब उप्रान्त जिल्लाका सबै अस्पतालहरुलाई आफ्नो–आफ्नो अस्पतालहरुमा छुट्टै आइसोलेसन वार्डको व्यवस्था गरी आफूकहाँ आएका विरामीहरुको चेकजाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने ।’
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बिहीबार बिहान विज्ञप्ती जारी गर्दै अस्पतालहरुमा छुट्टै आइसोलेसन वार्डको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले निजी अस्पतालहरुलाई उपचारका लागि आएका विरामीहरुलाई जाँच गरेर मात्रै पठाउन निर्देशन दिएको थियो ।
सरकारी अस्पताल नारायणी अस्पतालबाहेक वीरगञ्जमा एक दर्जनको हाराहारीमा निजी अस्पताल छन् । तर वीरगञ्जका अस्पतालको गोलचक्कर लगाउँदा समेत कोभिड–१९ को आशंकामा उचित उपचार सेवा नपाउँदा विरामीको मृत्यु भइरहेका घटना सार्वजनिक भएका छन् ।