रस अनलाइन खबर आज २०७७-१०-०६
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताउनुभएको छ ।
साेमबार काठमाण्डाैमा आयोजित कार्यक्रममा उहाँले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको बताउनुभयो । किसानको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं, वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँछौँ, मन्त्री अर्यालले भन्नुभयो, आगामी फागुनदेखि यो कार्यक्रम द्रुतरुपले अगाडि बढ्छ ।
किसानो हकहितका निम्ति स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने उल्लेख गर्दै उहाँले किसानको हकहितका निम्ति गठन भएको आयोग अहिलेको अवस्थाले मात्र उसको उद्देश्य पूरा गर्न नसक्ने स्पष्ट पार्नुभयो । मन्त्री अर्यालले कृषि मन्त्रालयमार्फत वितरण गरिँदै आएको अनुदानका कार्यक्रमहरु परिमार्जन गर्ने र कतिपय अनुदानलाई बन्द नै गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै अनुदानका कार्यक्रमहरु जति पनि सञ्चालन भएका छन्, तीमध्ये कतिपयलाई परिमार्जत गर्नुपर्नेछ, कतिपय कार्यक्रम बन्द नै गर्नुपर्ने अवस्था छ किनभने ती कार्यक्रम उचित प्रतिफल दिन सकेनन् भन्नुभयो ।
किसानलाई मलको अभाव हुन नदिन मन्त्रालयले काम अगाडि बढाइसकेको र देशभरका स्थानीय तहलाई आफ्नो तहमा वर्षभरि चाहिने मलको माग पठाउन माघ अन्तिमसम्मको समय दिइएको बताउँदै उहाँले अबका दिनमा मल अभाव नहुने गरी मन्त्रालय अगाडि बढेको जानकारी दिनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले महिलाका निम्ति सञ्चालन गरिने कार्यक्रममा आफ्नो मन्त्रालयले सहजकीरण गरिने बताउनुभयो ।