मुस्ताङ खुलेसँगै आन्तरिक पर्यटक बढे

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१०-०२

कोरोना कहरले नौ महिनादेखि बन्द मुस्ताङ खुला गरिएसँगै पर्यटकको चहलपहल बढेको छ । कोरोना संक्रमण प्रभाव न्यून परेको मुस्ताङमा स्थानीयले यसअघि पर्यटक आवागमनमा रोक लगाएका थिए । लकडाउन हटे पनि प्रवेशमा रोक लगाइँदा सयौं पर्यटक बीचमै अलपत्र परेको गुनासोपछि पुस २१ देखि मुक्तिनाथ मन्दिरसहित मुस्ताङ पर्यटकका लागि खुला गरिएको हो ।

यससँगै बेनी, पोखरा, काठमाडौंबाट समेत आन्तरिक पर्यटक मुस्ताङ आउन थालेका हुन् । पछिल्लो सातादेखि बसमा दैनिक ५० जनाभन्दा बढी टिकट बिक्री बढेको पोखरा–बेनी–जोमसोम रुटमा बस सञ्चालन गरेका यातायात व्यवसायी मोहन केसीले जानकारी दिए । अभिलेख नगरिए पनि निजी गाडी र मोटरसाइकलमा आउने पनि बढेका छन् ।

यो मुस्ताङ भ्रमण गर्ने अफसिजन हो । तर पनि लामो समयदेखि मुस्ताङ भ्रमण गर्न नपाएका आन्तरिक पर्यटक आउन थालेका छन्, थासाङ गाउँपालिका–४ घाँसा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गौचनले भने, अफसिजनमा पाहुनालाई पो किन फर्काउनु भनेर आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै होटल खोल्ने निर्णय गरेका हौं ।

मुस्ताङमा मात्र होइन, म्याग्दीका पर्यटकीय गन्तव्य घोरेपानी–पुनहिल पदयात्रामा समेत आन्तरिक पर्यटक पुग्न थालेका छन् । कोरोना संक्रमणको त्रासले स्थानीयले नयाँ र जोखिम क्षेत्रबाट आउनेलाई बस्ती प्रवेशमा रोक लगाएका थिए । अब अन्नपूर्ण चक्रीय मार्गका प्रायः सबै गन्तव्य खुलेका छन् । पुनहिल पदयात्रामा आउने पर्यटकलाई मास्क अनिवार्य गरिएको छ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *