रस अनलाइन खबर आज २०७७-०९-०५
टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छन् । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन्। टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए ।
बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै कमजोर भएको छ, सन्ध्याले भनिन्, चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ ।
एकसरो लुगा लगाएर बच्चा बोकेर अस्पतालबाट फर्किरहेकी सन्ध्या आफैँ पनि जाडोले काँपिरहेकी थिइन । गरिब छु, श्रीमान् पनि वैशाखदेखि घरमै बसेका छन् । रोजगार नभएर आम्दानी छैन, सन्ध्याले भनिन्, सानो बच्चा छ । काम पनि केही पाउँदैन । पेट पाल्नै मुस्किल छ, लुगाकपडा लाउने त सपनामात्र भएको छ ।
टीकापुरकै विशालनगर शिविरका रुपेश परियार ज्यालादारीको काम गर्छन् । शीतलहर शुरु भएपछि उनको परिवारलाई समेत जाडो छेक्न समस्या भएको छ । म दिनभरि काम गर्छु, घरमा तीन बच्चा र श्रीमती छन् । दिनभरि कमाएर लगेपछि उनीहरुले खान पाउँछन्, रुपेशले भने, यसपटक एउटा सिरक किनौँला भनेको किन्न सकिएन । चिसो भएर रातभरि सुत्न सकिन्न, दिनभरि काम गर्नुपर्छ । मलाई त रिङ्गटा लाग्न थालेको छ ।
रुपेशको परिवार घरमा ओढ्ने, ओछ्याउने टन्न कपडा नभएर भुइँमा पराल बिछ्याएर सुत्ने गरेको छ । आगो बालेर तापौँ भने पनि दाउरा पाइँदैन, रुपेशकी श्रीमती मनसराले भनिन्, सबैजना सँगै सुत्छौँ अलि तातो हुन्छ, एक सातायता जाडो निकै बढेको छ ।
मुक्त कमैया बस्तीका शिवनगरमा पनि चिसोसँगै शीतलहर शुरु भएपछि धेरैको दैनिकी कष्टकर भएको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन भएको छ । शिवनगरका रामेश्वर चौधरी चिसो बढेपछि एक सातादेखि काममा जान सक्नुभएको छैन । डकर्मी काम गर्ने रामेश्वरको घर उहाँले काम नगरे चल्दैन ।
चिसोमा काम गर्न कठिन हुन्छ, केही दिन काममा नजाँदा घरमा भएको सबै अन्न सकियो, ओहो हामी गरिबलाई जाडोमा पनि समस्या, गर्मीमा पनि समस्या । बिरामी भए पनि आफ्नो र परिवारको पेट पाल्न काम गर्नैपर्ने, रामेश्वरले भने, चिसो बढेपछि शिविरका अधिकांशमा रुघाखोकी, ज्वरोजस्ता समस्या शुरु भएका छन् । एकातिर कोरोना भाइरस सङ्क्रमणको डर पनि बढेको छ ।
बस्तीका बडघर रामफल चौधरी शिविरमा बस्तीमा बस्ने सबै गरिब भएकाले समस्या भएको बताए । हरेक वर्षको जाडो छेक्न कठिन हुन्छ, सरकारले विपन्नको जीविकोपार्जनका लागि केही उद्योग, कलकारखाना खोलिदिएको भए सबैले रोजगार पाउँथे, बडघर चौधरी भन्छन्, आयआर्जन भए पो आवश्यकता पूरा हुन्छन् । खेतीपाती गरौँ भने जमिन छैन, अनि मौसमले पनि सधैँ पीडा दिन्छ ।
विजयनगर बस्तीकी गीतारानी चौधरी शनिबार बिहानै एकसरो म्याक्सी लगाएकी, सलभित्र काखमा बच्चा च्यापरे दौडदै हुन्थे । उनी घर निर्माण हुने स्थानमा इँटा, बालुवा बोक्ने काम गर्छन् । काम गर्नुपर्छ, बच्चा हेर्ने मानिस छैन, बोकेरै काममा जान्छु, गीतारानीले भनिन्, घरमा अन्न भएको भए चिसोमा आराम गर्ने थिए । शरीरमा लुगा छैन, दिनभरि काम गर्दा त जाडो भएको महसुस हुन्न तर राति चिसोले मुटु काप्छ ।
यसरी शिविर तथा बस्तीमा बसेका धेरै नागरिक हरेक रात मुटु कपाएरै कटाउँछन् । उनीहरु सरकारले सहजरूपमा रोजगारीका अवसर सिर्जना गरिदिनुपर्ने माग गर्छन् । कोरोना भाइरस सङ्क्रमणपछि शिविरका धेरै नागरिकको ज्यालादारी गर्ने काम पनि छुटेको छ । भारतमा काम गर्नेहरु पनि घर फर्केका छन् । टीकापुर नगरपालिकाले गत वर्ष यी बस्तीमा दाउरा वितरण गरेको थियो । यस वर्ष पनि पुस महिना शुरु भएसँगै चिसो निकै बढेको छ । कैलालीको तापक्रम छ डिग्री सेल्सियससम्म झरेको छ ।
यसपटक पनि चिसो बढेको छ । हामीले बस्तीमा बस्ने नागरिकलाई जाडो छेक्न कठिन भएकोबारे छलफल गरेका छौँ, टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्य भन्छन्, नगरपालिकामा छलफल गरेर उहाँहरुलाई राहत दिने काम गर्छौँ ।