रस आनलाइन खबर आज २०७७-०९-०२
पोखराको लेखनाथ क्षेत्रका किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरण सहयोग पुग्नेगरी पोखरा–२७ को तालचोकमा कोल्डस्टोर निर्माण गरिने भएको छ ।
गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तरगत तालचोकमा कोल्डस्टोर निर्माण गर्न २५ लाख रकम बिनियोजन गरेको स्थानीय किसानद्धारा आयोजित अन्तरक्रियामा बताउनु भयो ।
कास्की निर्वाचन क्षेत्र नं १(१)का प्रदेश सांसद दीपक कोइरालाले लेखनाथ उद्योग बाणिज्य संघले पोखरा-२७ को महोत्सव स्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद बिक्री केन्द्रमा कोल्डस्टोर निर्माण गरिने जनकारी दिनुभयो ।
स्थानीय स्तरमा उत्पादित कृषि जन्य वस्तुलाई उपभोक्तासम्म सुरक्षित तरिकाले भण्डारण गर्नमा सहयोग पुग्ने उद्देश्यले सांसद कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत कोडस्टोर संचालन गर्न २५ लाख रकम विनियोजन गरेको र उद्योग बाणिज्य संघले त्यसको १० प्रतिशत गरेर २७ लाख ५० हजारमा कोल्ड स्टोर निर्माण गरिने भएको हो।
लेखनाथ क्षेत्रमा कृषि उत्पादन राम्रो हुने तर बजारीकरणको समस्या देखिएकोले कृषि बजारसंगै कोल्डस्टोर निर्माणले कृषकलाई फाइदा पुग्ने अपेक्षा गरिएको बताउनुभयो । कृषि उपज खरिद बिक्री केन्द्रमा रहेका २६ वटा सरटमा कृषकका आफ्नै सटर पनि हुनुपर्ने सांसद कोइरालाको भनाई रहेको थियो ।
सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरीले सरकार र निजी क्षेत्रको सहकार्यमा बाणिज्य क्षेत्रका उद्योग धन्दा भन्दा पनि कृषिमा आधारित उद्योग धन्दा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुलाई बजारीकरण गर्न ब्यवस्थित तरिकाले भण्डारण र किसानको लगानीलाई सुरक्षित गर्नका लागि संघ कृषिमैत्री कार्यक्रम मार्फत अगाडि कुरा सुनाउनुभयो ।