रस अनलाइन खबर आज २०७७-०४-१२
काठमाडौँ– दुई वटा मौसमी प्रणाली सक्रिय रहँदा विभिन्न १५ जिल्लामा आज बिहानैदेखि भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कास्की,स्याङ्जा,तनहुँ,पाल्पा,गुल्मी,नवलपरासी,रूपन्देही,कपिलवस्तु,झापा,मोरङ, सुनसरी, सप्तरी, चितवन,
र धादिङका केही स्थानमा भारी वर्षा भएको छ ।
ती क्षेत्रमा भारी वर्षापछि स-साना खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्क रहन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।
मनसुन सक्रिय भएसँगै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन विभागले आह्वान गरेको छ।
यस्तै तीनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकाले कञ्चनखोला, तिनाउ नदीको तटीय क्षेत्र आसपासका साना खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।
मौसमविद्का अनुसार देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
आजदेखि मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको तथा तथा अरब सागरबाटसमेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिएकाले ३/४ दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
चार दिन देशका विभिन्न नदी, खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ
यस्तै प्रदेश नम्बर १ र २ का थोरै स्थानमा पनि भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।