रस अनलाइन खबर आज २०७७-०८-२९
त्रिशूली अस्पताल नुवाकोटले कोभिड-१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका-६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् ।
व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराउनुभएको थियो । ती सङ्क्रमित महिलाका लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो ।
कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौँमा पठाइने गरिएको थियो । कोरोना सङ्क्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराइँदै आए पनि गर्भवतीमा सङ्क्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिइएको यो पहिलो पटक हो , चिकित्सक केसीले भन्नुभयो,
अस्पतालमा हाल उपचारारका लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उहाँ सङ्क्रमित महिलालाई सुत्केरी गराएका हौँ ।
सेवाग्राहीको वृद्धि
अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेका अनुसार कोभिड-१९को सङ्क्रमण शुरु हुनुपूर्व अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्या ५०–६० को हाराहारीमा हुने गरेकामा हाल सो सङ्ख्या २०० नाघ्न थालेको छ ।
काठमाडाँैमा गर्भवती जाँच गराउँदै आएका जिल्ला फर्किएसँगै परीक्षण गराउनेको दर पनि बढेको जनाइएको छ । कोरोनाको जोखिमको कारण फोनमार्फत चिकित्सकसँग परामर्श लिन आग्रह गर्दै आएका छौँ , अस्पतालका अध्यक्ष न्यौपानेले भन्नुभयो, चिकित्सकका परामर्शको आधारमा आवश्यक परेमा मात्र अस्पताल बोलाउदा दैनिक गर्भवती जाँच गर्नेको सङ्ख्या बढ्दो छ ।
अर्कातर्फ अस्पतालले पछिल्लो एक वर्षदेखि प्रसूति तथा स्त्रीरोग विशेषज्ञमार्फत सेवा उपलब्ध गराउन शुरुआत गरेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । यसैबीच अस्पतालले यस साताभित्रै सघन उपचार कक्ष (आइसियू) सेवा शुरुआत गर्ने भएको छ । अस्पतालको स्तरवृद्धि गरी ५० श्यया पु¥याइएको छ । यससँगै दश श्ययाको सघन उपचार कक्ष सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।