रस अनलाइन खबर आज २०७७-०८-२३
चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो ।
पहिले दैनिक ३/४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा हाल दैनिक ७०/८० भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ । चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकीलगायत अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताउनुभयो । चिसोले बिरामी हुनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् ।
मङ्सिर पहिलो सातादेखि डडेल्धुरामा विस्तारै चिसो बढ्न थालेपछि मौसमी रूघाखोकी, निमोनिया, ज्वरो आउने तथा अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको सूचना अधिकारी पन्तको भनाइ छ । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
चिसोको समयमा भाइरस सक्रिय भएर बालबालिका र वृद्धवृद्धालाई असर पार्ने भएकाले चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो, झोलिलो खानेकुरा खानुपर्ने अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर विष्टले बताउनुभयो । चिसोबाट जोगिन स्थानीयवासीले हिटर अथवा आगो बालेर झ्यालढोका हावा नछिर्ने गरेर बन्द गर्छन् ।
यस्तो अवस्थामा निस्सासिएर ज्यान जाने सम्भावना हुन्छ, उहाँले भन्नुभयो, झ्याल खुला राख्नुपर्छ । पानी उमालेर खाने तथा घरवरिपरि सरसफाइ गर्दा रोगबाट बच्न सकिन्छ । चिसोमा कोरोना भाइरस सक्रिय हुने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुका साथै रुघाखोकी लम्बिएमा वा स्वास्थ्यमा थप समस्या आएमा स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।