रस अनलाइन खबर आज २०७७-०८-२२
सदरमुकाम बागलुङ बजारमा आएका पर्यटकका लागि अग्लो डाँडामा पुगेर प्रकृति हेर्न मन लाग्यो भने नजिकैको गन्तव्य हो– भकुण्डे दृष्यावलोकन स्तम्भ । सामुदायिक घरबासको गाउँ भकुण्डे पुगेका अधिकांश आन्तरिक पर्यटक दृष्यावलोकन स्तम्भ पुग्दछन् ।
बिहानै देखिने सूर्योदयको दृष्यदेखि सूर्यास्तसम्म क्षितिजमा देखिने मनमोहक दृष्यले पर्यटक लोभ्याउने गरेको छ । भकुण्डेमा दृष्यावलोकन स्तम्भ र घरबासको अनौठो संयोग छ । दृष्यावलोकन स्तम्भ पुग्न हिँडेका पर्यटकका लागि यहाँका घरबासले आधार दिन्छन् ।
गाउँ पुग्ने पर्यटकलाई यहाँका घरबास सञ्चालक स्वागत गर्न आतुर हुन्छन् । भकुण्डेका पुरानो अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष खिमबहादुर थापा त भकुण्डे पुग्ने जोकोहीलाई स्वागतमा पुग्नुहुन्छ । घरबास, स्थानीय उत्पादन र दृष्यावलोकन स्तम्भको संयोजनले चलायमान रहेको भकुण्डे पछिल्लो छ महिना सुनसान रह्यो ।
पाहुनाका लागि भनेर बनाइएको मूलाको सिन्की कामै नलाग्ने भयो । स्थानीय जातका कुखुरा बुढिएका छन् । कोदोका पिठोमा चिलेसा पर्ने बेला भइसक्यो । कोरोनाले देशका अन्य क्षेत्रमा जस्तै भकुण्डेका पर्यटनमा पनि प्रभाव पा¥यो । कहिले सजिलो होला जस्तो भयो, पाहुना डाक्न आतुर हुने हामीहरु कोही आउँदा पनि के हुन्छ जस्तो लाग्यो, घरबास सञ्चालक चन्द्रवीर थापाले भन्नुभयो, महामारीले चौपट बनायो । महामारी रोक्न गरिएको बन्दाबन्दी खुलेको लामो समयपछि भकुण्डेमा चहलपहल देखिन थालेको छ । घरबास सञ्चालककै बीचमा गण्डकी प्रदेश सरकारले भकुण्डेमा पुगेर कार्यशाला ग¥यो ।
आन्तरिक पर्यटक छिटपुट पुग्न थालेका छन् । दृष्यावलोकन स्तम्भ घुम्न जाने चिया र पानीका लागि मात्रै भए पनि घरबासमा पस्छन् । हामीले अब पेशा नै यही हो भनेर लाग्यौँ, मान्छेलाई नै शङ्का गर्नुपर्ने अवस्था आएपछि व्यवसाय चौपट भयो, घरबासका अध्यक्ष थापाले भन्नुभयोे, अब फेरि भकुण्डे बौरिन्छ । यहाँका घरबास सञ्चालकले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकका लागि घरबास खुल्ला गरेका छन् ।
दृष्यावलोकन स्तम्भ घुम्नका लागि सामाजिक दूरीको ख्याल गर्दै पुग्न आग्रह गर्छन् । “हामी बूढापाकाले मात्रै शुरु गरेको घरबासमा विस्तारै युवा आकर्षित हुँदै थिए, अहिलेसम्म धेरै परिवर्तन हुन्थ्यो”, उहाँ भन्नुहुन्छ पाहुनाका लागि कोशेली र स्थानीय संस्कृतिको प्रदर्शन गर्ने तयारीलगायतका कामसमेत अल्झिए ।
लामो समय एक घरबाट अर्को घर पुग्न नपाएका कारण पनि आपसी सल्लाह गर्न नपाएका उहाँको गुनासो थियो । भकुण्डेमा अब घरबास, स्थानीय खानाको स्वाद, दृष्यावलोकन स्तम्भ र सूर्योदय तथा सूर्यास्तको अलवा उद्यानकोसमेत प्रबन्ध हुँदैछ । दृष्यावलोकन स्तम्भ रहेको अघिपट्टिको टापुमा लखन थापाको शालिकसहितको उद्यान निर्माणको तयारी थालिएको छ ।
हामीले पर्यटनमा भविष्य देखेका छौँ, यसलाई राम्रो व्यवसाय बनाउन चाहन्छौँ, स्थानीय यामबहादुर थापा भन्नुहुन्छ, भकुण्डे चिनारीसहितको घरबासको गाउँ हुन्छ । सरकारले घरबासको मापदण्ड तोकिदिएपछि भकुण्डेमा घरबास थपिनेक्रम शुरु भएको छ ।