खुल्दै काठमाडौँका विद्यालय

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-२१

जोरपाटीकी सोफी न्यौपाने कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित वीन सम बोर्डिङ स्कुल (वेभ) मा कक्षा १० मा पढ्छिन् ।

कोरोनाका कारण देश लकडाउन हुँदा उनको स्कूल पनि बन्द भयो । कहिले स्कूल खुल्ला भन्ने चिन्ता भइरहेका बेला भर्चुअल अर्थात अनलाइन कक्षा विकल्पका रूपमा आयो ।

साउनमा अनलाइन कक्षा सुरु भयो तर स्कूलको कक्षा कोठामा साथीहरूसँग बसेर पढेको जस्तो भएन । केही सिके पनि स्कूल लागेको र पढाइ भएको जस्तो भएन । तैपनि पढाइ त चल्दै थियो ।

अहिले सोफीको स्कूल खुलेको छ । सात महिनापछि बिहीबार सोफी र उनका साथीहरू स्कूलको कक्षा बोठामा बसेर पढे । स्कूलले यही मंसिर १५ गते खुलेको हो । लामो समयपछि साथीहरू भेला भएर पढ्न पाउँदा उनीहरूमा खुसीको सीमा नै रहेन ।

कोभिड संक्रमितको संख्या बढिरहँदा यो वर्ष यसरी विद्यालयमा उपस्थित भएर पढ्न पाइलाजस्तो लागेको थिएन्, सोफीले खबरहबसँग कुरा गर्दै भनिन्, राम्रो व्यवस्थापन गरेर हामीलाई पढ्न बोलाउनुभएको, छ एकदमै खुसी छौँ ।

सोही स्कूलमा कक्षा १० मा पढ्ने अर्की छात्रा कल्पना न्यौपाने पनि स्कूलमा गएर पाउँदा खुसी लागेको बताइन् । कोभिडका कारण गत वर्ष दाइदिदीहरूले एसइइ नै दिन पाउनु भएन्, कल्पनाले भनिन्, विद्यालय खुलेसँगै हाम्रो त परीक्षा पनि सञ्चालन हुन्छ भन्ने आशा जागेको छ, खुसी लागेको छ !

विद्यार्थीका लागि विद्यालयमै उपस्थित भएर पढ्न पाउनु खुसीको कुरा भए पनि कोरोना भाइरस संक्रमणको जोखिम भने छँदैछ । जोखिम न्यूनीकरण र स्वास्थ्यका लागि के व्यवस्था गरेको छ त विद्यालयले ?

विद्यालयकी सहप्राचार्य बन्दना क्षेत्रीका अनुसार कोभिड १९ सम्बन्धी सबै स्वास्थ्य मापदण्ड पालना गरेर यही मंसिर १५ गतेदेखि विद्यालय सञ्चालन गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीलाई बिहान कक्षा ६ देखि १० सम्मकालाई दिउँसो बोलाइएको छ । अहिले गणित, विज्ञान र सामाजिक विषयको पढाइ सुरु भएको उनले बताइन् ।

पाँच महिनाअघिबाट भर्चुअल माध्यममार्फत कक्षा सञ्चालन भइरहेको थियो, सहप्राचार्य क्षेत्रीले खबरहबसँग भनिन्, विद्यार्थी र अभिभावकले केही विषयहरु भौतिकरूपमै उपस्थित गराएर पढाउन आग्रह गरेपछि नगरपालिकासँग छलफल गरेर अघि बढ्यौँ ।

एउटा कक्षाका विद्यार्थीलाई ५ टोलीमा छुट्याएर सामाजिक दूरी कायम गराउँदै एउटा बेन्चमा २ जना विद्यार्थी राखेको उनले बताइन् । प्रत्येक कक्षामा ह्याड स्यानिटाइजर राखेका छौँ, मास्क नलगाई विद्यालय आउने विद्यार्थीलाई मास्क दिएका छौँ, उनले भनिन्, विद्यालय छुट्टी भएपछि कक्षाकोठा डिसइन्फेक्सन गर्ने गरेका छौँ ।

बन्दाबन्दीका समयमा भर्चुअल माध्यमबाटै अध्यापन गराए पनि बिस्तारै सबै क्षेत्रहरू खुल्न थालेसँगै शैक्षिक संस्था पनि खुल्न थालेको शिक्षा विभागले जनाएको छ । कोभिड सम्बन्धी स्वास्थ्यका मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन हुन थालेको विभागका सूचना अधिकारी माधवप्रसाद दाहाल बताउँछन् ।

कोरोनामुक्त रहेका र ग्रामीण क्षेत्रका विद्यालयहरू केही महिनाअघिदेखि नै खुले पनि काठमाडौँ उपत्यका लगायतका मुख्य शहरमा भने अझै अन्योल देखिएको उनले बताए । उपत्यकाबाहेक देशभरका ८० प्रतिशत विद्यालय सञ्चालन भइरहेको उनको भनाइ छ ।

काठमाडौँमा कतै खुले, कतै अन्योल

सरकारले कोरोना जोखिमको मूल्यांकन गरी स्थानीय तहलाई विद्यालय खोल्ने अधिकार दिएसँगै अहिले देशभर विद्यालय खुल्न थालेका छन् । काठमाडौँ महानगरपालिका भित्रका विद्यालय सञ्चालन गर्न महानगर छलफलमा जुटेको छ ।

कोरोना जोखिम बढिरहेकाले तत्काल विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा स्वास्थ्यविज्ञ, शिक्षाविद् लगायत सम्बन्धित निकायसँग छलफल गरेर मात्र विद्यालय खोल्ने निर्णय गर्न सकिने महानगर, शिक्षा विभागले जनाएको छ ।

त्यस्तै, काठमाडौँ जिल्लाका केही नगरपालिकाले पनि सूचना प्रकाशन गर्दै विद्यालय खुलेको जानकारी दिएका छन् ।

विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरू इन्टरनेटको पहुँचमा नहुँदा भौतिकरूपमै उपस्थित गराई पठनपाठन हुन थालेको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।

त्यस्तै गोकर्णेश्वर र दक्षिणकाली नगरपालिकाभित्रका विद्यालय पनि सञ्चालनमा आएका छन् । अन्य नगरपालिकाहरू स्वास्थ्य सुरक्षाका साथ विद्यार्थीहरूलाई भौतिकरूपमै उपस्थित गराएर पढाउनेबारे छलफल गर्न थालेका छन् ।

(Visited 24 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *