लुम्बिनी प्रदेशमा ८२३ घरेलु हिंसा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१९

लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् ।

प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०७७/७८ को कात्तिकसम्ममा सबैभन्दा बढी बाँकेमा घरेलु हिंसा भएका छन् । बैदवारका अनुसार बाँकेमा २७२, रुपन्देहीमा १६१, कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६ घरेलु हिंसाका घटना भएका छन् । त्यस्तै बर्दियामा ३८, रोल्पामा ३४, अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्युठानमा १३ र रुकुमपूर्वमा चारवटा घरेलु हिंसाका घटना भएका छन् ।

उहाँले घरेलु हिंसा सबैभन्दा बढी कृषि क्षेत्रमा आश्रित परिवारमा हुने गरेको पाइएको बताउनुभयो । उहाँका अनुसार कृषिमा आबद्ध परिवारका ४७७, गृहिणी २६८, ज्यामी २७, विद्यार्थी नौ, बेरोजगार १३, व्यापारी २०, कर्मचारी आठ र वैदेशिक रोजगारी एक जना छन् । बैदवारले हिंसापीडित हुनेमा ७३६ महिला र ८७ पुरुष रहेको जानकारी दिनुभयो । सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेरमा हिंसा भएको पाइएको छ । सोह्रदेखि ३५ वर्षका ३७६, १६ देखि २५ वर्षसम्मका २२५, ३६ देखि ४५ वर्षसम्मका २०५, ४६ देखि ६० वर्षसम्मका १२३ हिंसापीडित बनेका छन् । महिला हिंसामा २४९ महिला र ६९६ पुरुष अभियुक्त छन् ।

सबैभन्दा धेरै जबर्जस्ती करणीका १५५, जबर्जस्ती करणी उद्योगका ५१, बहुविवाहका ४४, बालविवाहका चार, बोक्सीको आरोपमा छ, जातीय छुवाछूतका तीन, अप्राकृतिक मैथुन तीन, बाल यौन दुराचारका १०, अवैध गर्भपतनका दुई, मानव बेचविखनका छ र घरेलु हिंसा मुद्दा दर्ता एउटा दर्ता भएका छन् । लुम्बिनी प्रदेश मातहतका १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरी जम्मा ६५ प्रहरी एकाइबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *