यी महिला, जसले आफ्नै घरमा ‘चोरी’ गरिन् !

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१५

ललितपुरको महालक्ष्मी–१ का सानुकान्छा पोडे र उनकी श्रीमती कान्छी पोडे आइतबार दिउँसो ललितपुर प्रहरी परिसर, जावलाखेलमा वादविवाद गरिरहेका थिए । कान्छीले आफूमाथि घरेलु हिंसा भएको बताउँदै प्रहरीमा उजुरी दिएपछि एकजना प्रहरी निरीक्षकले उनीहरुबीच छलफल गराइरहेका थिए ।

साँझ उनै पोडेको घरमा २६ लाख रुपैयाँ नगद र सुनचाँदीका गरगहना चोरी भएको खबर आएपछि सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा आफैं घटनास्थलमा पुगे । उनी पुग्दा ढोका र दराज फोडिएको अवस्थामा भेटिएको थियो भने सामान पनि यत्रतत्र छरिएका थिए, झट्ट हेर्दा चोरी नभएको भन्ने कुनै संकेत देखिएको थिएन ।

तर, अनुसन्धानका क्रममा घरमा न कुनै नयाँ व्यक्ति आएको देखियो न अन्य कुनै संकेत फेला परे । बरु कान्छीको बयान शंकास्पद देखियो ।

नभन्दै खनतलासी लिने क्रममा पुजा कोठाको स्टील दराजको सेफमा लुकाएको अवस्थामा हराएको भनिएको नगद र सुनचाँदीका गरगहना फेला पर्‍यो । त्यसपछि प्रहरीले कान्छीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

कुनै ठाउँमा लगानी गरेको पैसा फिर्ता आएको रहेछ, शर्मा भन्छन्, त्यही पैसा परिवारका अन्य व्यक्तिलाई बाँड्नु नपरोस् भनेर महिलाले चोरीको नाटक गरे जस्तो देखिन्छ ।

तर, उनी जावलाखेलमा भएको वेला कसरी चोरी भयो भन्ने विषयमा प्रहरी अझै अनविज्ञ छ । कान्छी मौन छिन् ।

कानुनतः अभियुक्तलाई नबोली बस्न पाउने अधिकार पनि छ, त्यसैले जबरजस्ती सोध्ने कुरा पनि भएन, ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जन भन्छन् । त्यसैले अहिले प्रहरीले प्राविधिक पक्षको अनुसन्धान र विश्लेषण गरेर महिलाले अन्य कुनै व्यक्तिलाई प्रयोग गरेर चोरीको नाटक गरेको हुनसक्ने आंशकामा छानविन गरिरहेको छ ।

डीएसपी शर्माका अनुसार कान्छीको श्रीमान सानुकान्छासहित परिवारका अन्य सदस्यसँग झगडा परिरहने गरेको पाइएको छ । चोरिएको भनिएको पैसामा उनले कमाएकोसहित श्रीमान र छोराबुहारी लगायतको पनि लगानी छ । त्यो रकमले जग्गा किन्ने समेत उनीहरुको तयारी रहेको खुलेको छ ।

तर, जगगा किन्न नसकेपछि राखिएको पैसा झगडा बढ्दै जाँदा लुकाएर चोरीको नाटक गरेपछि पैसा अरुलाई बाँड्नु नपर्ने कान्छीले सोचेको हुनसक्ने देखिएको प्रहरी बताउँछ । उनको योजनाबारे श्रीमानलाई जानकारी नभएको हालसम्मको अनुसन्धानले देखाउँछ ।

घर झगडामा झुठो अफवाह फैलाएर प्रहरीलाई दुःख दिएको अभियोगमा कान्छीमाथि विस्तृत अनुसन्धान हुने ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्रचार्य बताउँछिन् ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *