रस अनलाइन खबर आज २०७७-०८-९
शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको २१ वर्षपछि ६ मंसिरमा काठमाडौं महानगरपालिकाले रत्नपार्कमा शालिक अनावरण गर्यो ।
पार्कभित्र साख्वासँगै पद्मरत्न तुलाधरको शालिक बनाइएको छ । साख्वा नेपाल संवतको सुरुवातकर्ता हुन् भने तुलाधर वामपन्थी राजनीतिज्ञ, मानवअधिकारवादी नेता एवं नेपाल भाषाको भाषिक आन्दोलनका अग्रणी व्यक्तित्व हुन् ।
साख्वा र तुलाधरको शालिक अनावरणसँगै रत्नपार्कमा शंखधर उद्यानको बोर्ड टाँगिएको छ । यसले रत्नपार्कको नाम परिर्वतसम्बन्धी विवाद पनि सुरु भएको छ ।
रत्नपार्कको इतिहास
वि.सं. २०१७ साल पुस १ गते पञ्चायती शासन व्यवस्था लागू गरेका तत्कालीन राजा महेन्द्रले रत्नपार्क बनाउन लगाएका थिए । त्यसबेला तत्कालीन टुँडिखेल क्षेत्रमा रहेको हालको रत्नपार्क खाली थियो । तत्कालीन रानी रत्न राज्यलक्ष्मीको योजना अनुरुप महेन्द्रले बच्चाहरुको लागि भनेर पार्क तयार पार्न लगाएका थिए । २०१८ सालदेखि निर्माण सुरु गरेर २०२१ सालमा सम्पन्न भएको थियो ।
पार्कको नाम योजनाकार रत्नकै नामबाट राखियो र उनको प्रतिमा पनि स्थापना गरिएको थियो । २०५८ साल जेठ ५ गते रत्नपार्क महानगरको मातहतमा आयो भने २०६३ साल कात्तिक १ देखि महानगरकै वातावरण विभागले यसको व्यवस्थापन गर्न थाल्यो । पार्कको बीचमा रहेको रत्नराज्यलक्ष्मीको शालिक भने २०६२/६३ सालमा आन्दोलनकारीले तोडफोड गरेका थिए । त्यतिबेलासम्म रत्नपार्क अहिलेको जस्तो व्यवस्थित भने थिएन ।
२०७१ साल मंसिर १०–११ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनको तयारीका त्रक्रममा काठमाडौं महानगरपालिकाले रत्नपार्कलाई व्यवस्थित बनायो ।
अहिले महानगरपालिकाले नै शंखधरको शालिक राख्नुका साथै पार्कको नाम परिवर्तन गरेको हो ।
किन भयो विरोध ?
तर रत्नपार्कको नाम शंखधर उद्यान राखेपछि केही राजनीतिक दल र अभियान्ताहरुले विरोध गरेका छन् ।
धेरैको विरोध पहिचान बनाइसकेको रत्नपार्कको नाम परिवर्तन गरेकोमा छ । रत्नपार्क, शंखधर साख्वाको इतिहाससँग जोडिएको विशेष क्षेत्र नभएकोले उनलाई उचित सम्मान हुनेगरी अन्यत्रै पार्क निर्माण गर्न सकिने उनीहरुको धारणाा छ ।
काठमाडौं ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान, शंखधरप्रति न्याय गर्न अरुको नाममा बनाएको पार्कमा उनको शालिक उभ्याउनु जरुरी नरहेको बताउँछन् ।
आफूहरुले शंखधर साख्वाको शालिक प्रतिस्थापनको नभई इतिहास मेट्ने कम्युनिस्ट चरित्रको विरोध गरेको उनले बताए ।
हामीले शंखधर साख्वाको शालिक राखेकोमा विरोध गरेका होइनौं, राष्ट्रिय विभूति घोषणा गर्ने र नेपालभाषालाई राष्ट्रिय भाषाको मान्यता दिने कांग्रेसले यस्तो कहिलै गर्न सक्दैन तर इतिहासलाई मासेर सस्तो लोकप्रियताको लागि काठमाडौं महानगरपालिकाले गरेको निर्णय गलत छ प्रधानले अनलाइनखबरसँग भनेका छन्, शंखधर साख्वाको शालिक राख्ने नै हो भने उपत्यकाको तीनै शहरको बीच पर्ने तीनकुनेमा राख्न सकिन्छ, लैनचौरमा पार्क बनाएर राख्न सकिन्छ या त किंवदन्तीले उनीसँगको प्रसंग जोडेको टेकुमा पनि सुन्दर पार्क बनाएर राख्न सकिन्छ । तर बनिसकेको इतिहास भत्काउने काम गलत हो ।
कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको तथा नरहरि आचार्य सञ्चारमन्त्री हुँदा नेपाल भाषामा नेपाल टेलिभिजन र रेडियो नेपालबाट समाचार भन्ने व्यवस्था मिलाएको उनले स्मरण गरे ।
रत्नपार्कको नाम फर्ने निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थागत रुपमा नै विरोध जनाएको छ । इतिहास मासेर रत्नपार्कको नाम बदल्ने प्रयासले शंखधरकै उचित सम्मान गर्न नसकेको राप्रपाको ठहर छ । शंखधरको नाममा अन्यत्र कतै छुट्टै संरचना बनाएर उनको शालिक त्यहीँ राख्दा शंखधर र रत्नराज्यको सम्मान हुने पार्टी अध्यक्ष कमल थापाले बताएका छन् ।
के भन्छ महानगर ?
काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल शालिक स्थापना गरेकाले उद्यानको नाम पनि शंखधर राखिएको बताउँछन् । उद्यानको नाम परिवर्तन हुँदैमा ठाउँ (रत्नपार्क)को नाम बदल्न आवश्यक नरहेको समेत उनले बताएका छन् । रत्नपार्कस्थित शंखधर उद्यान भनेर यसलाई चिनाउन सकिने उनको तर्क छ ।
नेपालको सबै क्षेत्र, जात र भाषिक समुदायले मानेका राष्ट्रिय विभूतिको नाममा उद्यानको नामाकरण गर्दा राजनीतिकरण गर्नुको औचित्य नरहेको डंगोल बताउँछन् । पद्मरत्न तुलाधर पनि बामपन्थी राजनीतिज्ञ एवं मानवअधिकारवादी समेत रहेकोले उनको पनि पार्कको एक छेउमा शालिक राखिएको उनले बताए ।
नाम परिवर्तनको शृङ्खला
त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी उपप्राध्यापक डा. टिना मानन्धर नेपालमा पञ्चायती शासन व्यवस्थाको सुरुवात भएपछि राजारानी र परिवारका सदस्यको नाममा विभिन्न परियोजनाको नामाकरण गर्ने क्रम चलेको स्मरण गर्छिन् । सोही समयमा कतिपय संरचनाको नाम परिवर्तनको शृङ्खला समेत चलेको पाइन्छ ।
हाल शहीदगेटको नामबाट चिचिने द्वारलाई दस्तावेजहरुमा नेपाल स्मारक द्वार वा नेपाल द्वार भनिनएको छ । वि.सं. २०१८ वैशाख १ गते निर्माण गरिएको यो द्वारमा प्रजातन्त्र प्राप्तिका लागि बलिदान दिने ४ शहीदको शालिक राखेपछि स्थानीयले शहीदगेट भन्न थाले । अहिले नेपाल द्वार होइन, शहीदगेट भनेर चिचिन्छ ।
त्यस्तै, धरहरालाई वि.सं. २०२०/२१ तिर भीमसेनस्तम्भ नामले चिनाउने प्रयास गरियो । त्यतिबेला औपचारिक रुपमा यसको नाम भीमसेन स्तम्भ नै राखिएको हो । तर अहिलेसम्म पनि त्यो नाम स्थापित हुन सकेन, सबैले पुरानै नाम धरहरालाई मान्यता दिएका छन् । सोही समयमा रामशाह पथ, महेन्द्र राजमार्ग जस्ता विभिन्न परियोजनाको नाम राजा वा राजसंस्थासँग जोडेर राखिएको थियो । यही क्रममा रत्नराज्यलक्ष्मीको इच्छा अनुसार बनाइएको पार्क भएकोले सो पार्कको नाम समेत रत्नपार्क नामले चिनाइएको थियो ।
२०६२/६३ को आन्दोलनपछि यस्तै धेरै नाम परिर्वतनको प्रयास भए, जसमध्ये कति सफल भएका छन् भने केही नाम जनजिब्रोमा बसिसकेकाले फेरिएन र
विशेष परिस्थितिबाहेक यसरी एउटा इतिहास र पहिचानको रुपमा विकास भइसकेको ठाउँको नाम परिवर्तन गर्नुभने उचित नहुने जानकारहरुको बुझाइ छ ।
त्यही मत राख्नेमध्येका एक पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की फ्रान्सको राज्यक्रान्ति सफल भएपछि पनि त्यहाँका राजारानीको नाममा रहेको ठाउँको नाम परिवर्तन नभएको स्मरण गर्छन् । यहाँ त देशको नामै परिवर्तन गर्नुपर्छ भन्नेहरु भेटिन्छ, इतिहास मेटेर झण्डा परिवर्तन गर्ने कुरा आउँछ । त्यस्तोमा एउटा पार्कको नाम परिवर्तन गर्नु सामान्य होला उनले भनेका छन्, तर स्थापित नामलाई परिवर्तन गरिरहनु आवश्यक छैन ।