रस अनलाइन खबर आज २०७७-०८-९
शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा सहज रुपमा सन्चालन भएको भन्दै खुसी व्यक्त गरेका छन् । काठमाडौं उपत्यकाका परीक्षा केन्द्रहरुको मंगलबार बिहान अनुगमन गर्दै मन्त्री पोखरेलले चुस्त व्यवस्थापनका कारण परीक्षा सहजरुपमा भएको बताएका हुन् ।
विश्व निकेतन मावि केन्द्रको अनुगमनको क्रममा मन्त्री पोख्रेलले भने, परीक्षा कहिले हुने, कसरी हुने भन्ने एक किसिमको अन्यौल र मनोवैज्ञानिक त्रास थियो, अहिलेको चुस्त व्यवस्थापनबाट परीक्षा भयो, विद्यार्थीहरुको उच्च शिक्षाको बाटो खुल्यो, मलाई एकदमै खुसी लागेको छ ।
विश्व निकेतन माविले आफैं हेल्थ डेस्कको व्यवस्था गरेकोमा पनि उनले प्रशंसा गरेका थिए । मन्त्रीज्यूले तपाईंहरुले राम्रो काम गर्नुभयो, अरु स्कुलहरुमा पनि मैले यहाँको उदाहरण दिएर अझै राम्रोसँग काम गर्न भन्छु भन्नुभएको छ, विश्व निकेतन माविका प्रिन्सिपल हिरम्बराज कँडेलले अनलाइनखबरसँग भने ।
स्थानीय तहको सहयोग नपाएपछि आफैंले हेल्थ डेस्कको व्यवस्था गरेको कँडेलले बताए । हेल्थ डेस्कमा खटिएकाले इन्फ्रारेड थर्मोमिटरको सहायताले ज्वरो नापेर मात्रै स्कुलभित्र प्रवेश गराउने उनले बताए ।
यसका साथै धारामा साबुन पानी, सेनिटाइजरको व्यवस्था पनि गरिएको छ । हरेक कक्षा कोठा स्यानिटाइज्ड गरिएको छ । कक्षा कोठामा एउटा बेन्चमा एक जनामात्रै परीक्षालाई बस्ने व्यवस्था मिलाइएको छ ।
विश्व निकेतन माविमा ७ सय विद्यार्थीहरुले परीक्षा दिएका छन् । विश्व निकेतन परीक्षा केन्द्रमा दुई जना बाहिरका विद्यार्थीहरु पनि छन् भने यहाँका १२ जना विद्यार्थीहरुले बाहिरबाट परीक्षा दिएका छन् ।