रस अनलाइन खबर आज २०७७-०७-१८
नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो ।
प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा बन्दाबन्दी गर्ने, तिहारका अवसरमा खेलिने देउसीभैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ ।
कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ भने देउसीभैलो खेल्दा भिडभाड हुने भएकाले जिल्लाभर देउसीभैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।
“सोमबार बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यक बाहेकका सेवा, बजार र यातायात बन्द गर्ने र जिल्लाभर देउसीभैलो खेल्न नपाउने निर्णय गरेको छ”, प्रजिअ न्यौपानले भन्नुभयो, “समुदायमा कोरोना फैलिएको क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा भिडभाड बढी हुन सक्ने भन्दै देउसीभैलो खेल्न रोक लगाइएको हो ।”