जग्गा किन्ने बहानामा सुन र मोबाइल लुटेर हत्या : मुख्य योजनाकारसहित ३ पक्राउ

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२७

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकार सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ रहेका छन । भक्तपुरको चाँगुनारायण नगरपालिका ८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले बताएको छ ।

जग्गा हेर्न भन्दै गएका उनीहरुले गत हप्ता योञ्जनलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते योञ्जनको उपचारका क्रममा मृत्यु भएको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनीहरुले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताउनुभयो । कुटपिटबाट योञ्जनको पेट, छाति र अनुहारमा गम्भीर चोट देखिएको उहाँले बताउनुभयो ।

कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लगेर फरार भएका थिए । प्रहरीले घटनास्थलमा भेटिएको हेलमेटका आधारमा अनुसन्धान गरी अपराधीहरुलाई पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो ।

उनीहरुको साथबाट प्रहरीले बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, सुन बिक्रीबाट प्राप्त १ लाख ५५ हजार मध्ये ५४ हजार ६ सय रुपैयाँ नगद पनि र एक तोला दुई लाल सुन बरामद गरिएको छ । कर्तव्य ज्यान मुद्दा र लुटपाट अभियोमा उनीहरुलाई भक्तपुर जिल्ला अदालत लगिने प्रहरीले बताएको छ ।

प्रहरीले अपरेशनमा संलग्न प्रहरी अधिकारी र जवानहरुलाई नगद सहित सम्मान पनि गरेको छ ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *