रस अनलाइन खबर आज २०७७-०६-२३
जुगल गाउँपालिकाको मन्जेमा अपहरणपछि गाडीभित्र भएको बलात्कार घटनाका आरोपित चारमध्ये दुई जना बिहीबार पक्राउ परेका छन् । असोज १५ को राति जुगल–३ की ३२ वर्षीया महिलालाई चार जना पुरुषले बोलेरो गाडीभित्र सामूहिक बलात्कार गरेका थिए । पीडितले गत सोमबार प्रहरीमा जाहेरी दिएकी थिइन् ।
पीडितले बताएको हुलियाका आधारमा आरोपितहरूलाई पक्राउ गरिएको डीएसपी प्रकाश सापकोटाले बताए । ‘शंकास्पद दुई जनालाई म्याद थपेर अनुसन्धान गर्दै छौं, फरार दुई जनाको खोजी भइरहेको छ,’ उनले भने । आरोपितले प्रयोग गरेका बोलेरो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडितलाई महिला सेल्टरमा राखिएको छ । पक्राउ परेका आरोपितहरू गोन्जे र गोन्डे गाउँका हुन् । ती महिलाका आफन्तका अनुसार बलात्कारमा संलग्नमध्ये एक जना केही महिनाअघि मात्रै दुबईबाट गाउँ आएका हुन् ।
जुगल–३ तेम्बाथानबाट बलेफीको जलबिरे बजार झरेकी उनलाई मन्जे वल्लो टोलदेखि आरोपीले पछ्याएका थिए ।