रस अनलाइन खबर आज २०७७-०५-२८
लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ ।
नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भन्नुभयो ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिनुभयो । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।
गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो । सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो । भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आइतबार बिहान १० बजेसम्म सतर्क रहन स्थानीय प्रशासनले सवैलाई आग्रह गरेको छ ।
सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गर्नुभएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।