रस अनलाइन खबर आज २०७७-०५-२१
अमलालाई पोषक तत्त्वहरूको राजा मानिन्छ । अमलामा मिनरल र भिटामिनहरू पाइन्छन्, तिनले शरीरलाई स्वस्थ राख्ने मात्र नभई अनेकौं रोगबाट पनि बचाउँछन् ।
अमलालाई काँचै खान सकिन्छ, यसको जुस बनाएर पिउन सकिन्छ वा अचार साँधेर खान सकिन्छ ।
अमलामा भरपूर मात्रामा भिटामिन सी पाइन्छ र यसले इम्युनिटी तथा मेटाबोलिजम बढाउँछ । अमला रुघा, खोकी, भाइरल ज्वरो र ब्याक्टेरिया संक्रमणविरुद्ध लड्छ । अमलामा भएका गुणकारी तत्त्वले क्यान्सर सेलसँग पनि लड्छन् ।
स्वास्थ्यविद्हरू अमलाको रस खोकी र रुघाका साथै मुखको खटिरा हटाउन पनि काम लाग्ने बताउँछन् । दुई चम्चा अमलाको रसमा दुई चम्चा मह मिसाएर दिनदिनै पिउँदा रुघाखोकीमा आराम हुन्छ । अनि मुखको खटिराबाट छुटकारा पाउन एक चम्चा अमलाको जुसलाई पानमिा मिसाएर गार्गल गर्नुपर्छ ।
कोलेस्ट्रोललाई सही स्तरमा राख्नका लागि अमलाको जुस नियमित पिउनुपर्छ । यसमा भएको अमिनो एसिड र यान्टीअक्सिडेन्ट गुणले मुटुलाई सही तरिकाले काम गराउँछ ।
दम जस्तो सासको रोगमा पनि अमलाको जुस लाभदायक हुन्छ । यसले मधुमेह पनि नियन्त्रणमा राख्छ । अमलाले पाचनप्रणालीलाई पनि राम्रो बनाउँछ ।
कलेजोलाई सुरक्षित राख्ने सबै तत्त्व अमलामा पाइन्छ । यसले शरीरबाट विषाक्त तत्त्वहरू बाहिर निकाल्छ ।
अमलामा भिटामिन सी बाहेक आइरन, क्याल्सियम र फस्फोरस व्यापक मात्रामा पाइन्छ । पोषक पेयपदार्थका रूपमा पनि यसलाई पिउन सकिन्छ ।
कपालका लागि त अमला त औषधि नै हो । कपालको संरचनामा ९९ प्रतिशत प्रोटीनको योगदान हुन्छ । अमलामा पाइने अमिनो एसिड र प्रोटीनले कपाल बढाउन सहायता गर्छ, झर्न रोक्छ र जरालाई बलियो बनाउँछ ।
अमलाले छाला पनि सुन्दर बनाउँछ । अमलाको रस कपासमा भिजाएर अनुहारमा दल्दा पोतो, दाग सबै हट्छन् र अनुहार चम्किन्छ ।