बलिउड फिल्म ‘रामायण’ एक विशाल प्रोजेक्टका रुपमा स्थापित हुने भएको छ । यसका दुई श्रृङ्खलाको अनुमानित बजेट १६ सय करोड भारु दाबी गरिएको छ ।
भारतीय मिडिया इन्डिया टुडेका अनुसार निर्माण पक्षले भर्खरै छायाङ्कन सम्पन्न भएको ‘रामायण’ पहिलो भागकाे लागत ९०० करोड रहेकाे बताएको छ ।
छायाङ्कन हुन बाँकी दोस्रो भाग ‘रामायण २’को लागत ७०० करोड पुग्ने दाबी छ ।
पहिलो भागमै बनाइएका सेटहरु पुन: प्रयोग गर्न मिल्ने भएकाले ‘रामायण २’को लागत कम लाग्ने निर्माण पक्षको भनाइ छ ।
ठूलो बजेटको फिल्म रहेकाले कलाकारहरुको पारिश्रमिक पनि चर्चाको विषय बनेको छ । भारतीय मिडिया फिल्म फेयरका अनुसार यस फिल्मको शीर्ष कलाकार भगवान रामको भूमिका निर्वाह गरेका रणवीर कपुरले ७५ करोड पारिश्रमिक बुझेका छन् ।
‘रामायण २’को लागि पनि उनले ७५ करोड नै पारिश्रमिक बुझ्ने गरी सम्झौता गरेका छन् । दुई भागबाट उनले १५० करोड पारिश्रमिक बुझ्नेछन् ।
त्यस्तै सीताको भूमिका निर्वाह गरेकी नायिका साई पल्लवीले एक भागका लागि ६ करोड पारिश्रमिक बुझ्ने गरी सम्झौता गरेकी छन् । दुई भागबाट उनले १२ करोड पारिश्रमिक बुझ्नेछिन् ।
रावणको भूमिकामा रहेका नायक यश भने यो फिल्मको सह-निर्मातासमेत हुन् । उनी नाफाको हिस्सेदार हुनेछन् । यो फिल्मको व्यापारअनुसार उनले पैसा पाउनेछन् ।