उजाडियो सैनीबजार ताल फुट्दा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-०७

कैलाश खोलाको बाढीले जिल्लाकै पुरानो ग्रामीण बजार रामारोशन–५ सैनीबजारको गत मंगलबार एकै रातमा नामोनिसान मेटियो । सैनीका २५ घरमध्ये २२ घर बाढीले बगाएको छ ।

घरसँगै ४ परिवारका १७ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये शनिबारसम्म ७ जनाको मात्रै शव भेटिएको छ । १० जना अझै फेला परेका छैनन् । बस्ती नै शोकमा डुबेको छ । तत्कालीन सैनी साविकको रामारोशन र भाटाकाटिया गाविसको व्यापारिक केन्द्र हो ।

स्थानीय तह गठनसँगै रामारोशन–५ मा समेटिएपछि सैनीबजारको पनि स्वरूप फेरिएको थियो । चार वर्षमै व्यापारिक चहलपहल बढेपछि स्थानीयले लाखौं लगानी थपेर घर बनाएका थिए । ‘मंगलबारयताका रात छटपटीमै बितिरहेका छन्,’ सैनीबजारका दीर्घराज रोकायाले भने, ‘एकै दिनको बाढीले बजार उजाड बन्यो, हाम्रो उठिबास भयो । अब त आकाशमा बादल देख्दा पनि कतिखेर बाढी आउँछ भन्ने डर लाग्न थाल्यो ।’ सैनीबजारमा रोकाया र खडक बटालाको पसल मात्रै बचेको छ । सैनीबजारसहित कैलाश खोलाको बाढीले करिब २ सय ५० परिवार विस्थापित भएका छन् ।

ताल फुटेर पहिरो

रामारोशन पर्यटकीय क्षेत्रमा १२ वटा ताल छन् । स्थानीयहरूका अनुसार कैलाश खोलाको मुहान नै ती तालहरू हुन् । १२ तालमध्येको गाग्रे ताल फुटेर रोला खोला किमडीखाँदमा पहिरो खस्यो । लगातारको वर्षाले त्यही पहिरो बगेर कैलाश खोलामा भीषण बाढी आएको सैनीबजारका स्थानीय कमान साउदले बताए । ‘ताल फुटेर बाढी आएको हुन सक्छ भन्ने शंका थियो, शनिबार हामी त्यही क्षेत्रमा पुग्यौं, गाग्रे ताल फुटेको छ,’ साउदले भने, ‘माथिबाट ताल फुटेर कैलाश खोलामा उर्लिएपछि सैनीबजार बगायो ।’

उनले अझै पनि निरन्तर वर्षा भइरहेकाले यहाँका धनेसल्ला, सोड्ना जाततोलालगायतका बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको बताए । रामारोशन क्षेत्रको सबैभन्दा ठूलो किनिमिनी पाटनलाई समेत उक्त ताल फुटेर असर पारेको उनले बताए । ‘निरन्तर वर्षा भइरह्यो भने सबै पहिरोमा मिसिने सम्भावना छ, पैदल बाटोसमेत छैन,’ उनले भने ।

शुक्रबार स्थलगत अनुगमनमा आएका गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीसँग पीडित परिवारले आफ्ना समस्या राखेका थिए । विस्थापितको पुनःस्थापनाका लागि सरकारले तत्काल आवास निर्माणसँगै अन्य राहत सहयोग उपलब्ध गराउने मन्त्रीहरूले आश्वासन दिएको स्थानीयले बताए ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *