वैशाख २० बाट छायाङ्कन, जितुको अर्को फिल्म ‘कार्की साइला’को शुभ मुहूर्त

सेयर गर्नुहोस्

नेपाल समाचार
कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा टिमबाट बाहिरिएपछि जितु नेपाल धमाधम फिल्म साइन गरिरहेका छन्। गत वर्ष मात्रै जितुको दुई फिल्म ‘ज्वाइँ साब’ र ‘कार्साङ’ प्रदर्शनमा आयो।

यो वर्षको सुरुवातमा जितु नयाँ फिल्म ‘कार्की साइला’को छायाङ्कनमा निस्कने तयारीमा छ। यस फिल्मको सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभ मुहूर्त गरिएको छ।

फिल्मका केन्द्रीय कलाकार जितु र नायिका वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए। यो फिल्मको छायाङ्कन भने वैशाख २० गतेबाट धनकुटामा सुरु हुने बताइएको छ।

फिल्ममा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगगर, मनिल तामाङलगायतको अभिनय रहने बताइएको छ। अन्य कलाकार चयनको काम भने बाँकी रहेको निर्देशक राजेन्द्र बस्नेतले बताए।

निर्देशक बस्नेतका अनुसार यस फिल्मले भुईँ मान्छेको कथा उठान गरेको छ। यस फिल्मको शीर्ष पात्र भरिया रहेको उनले बताए।

यस फिल्मको प्रस्तुतकर्ता कृष्णभगत चाम्लिङ हुन्। कर्णबहादुर फिल्मस्‌को ब्यानरमा बन्ने यस फिल्मको निर्माता भने बालकुमार राई हुन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *