नेपाल समाचार
‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ। गत फागुन १८ गते बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको फिल्म ३६ दिनमा मंगलबार प्याकअप भएको हो। चितवन र हेटौंडामा छायांकन भएको फिल्मलाई कथाले मागेको लोकेसनमा चाहेजसरी खिचिएको निर्देशक सुरेन्द्र पौडेलले बताए।
छायांकन सुरु नहुँदै अर्को वर्ष (२०८२)को लक्ष्मीपूजा अर्थात् कात्तिक ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा दयाहाङ र विजयसहित समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतको अभिनय छ।
आशिस एच तामाङ र श्रीराज कार्की निर्माता रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ भने ‘पूर्णबहादुरको सारङ्गी’का लेखक महेश दवाडीको पटकथा तथा संवाद छ। यसमा मानकृष्ण महर्जनको डिओपी, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा प्रदीप लामाको कोरियोग्राफी रहेको छ। सम्पादन भने निर्देशक पौडेल स्वयंले गर्नेछन्।
प्रकाशित मिति : २७ चैत्र २०८१, बुधवार ११:०० बजे