काठमाडौं नेपाल समाचार
अमेरिकामा एकजना महिलाले आफ्नै पतिसँग हप्तामा १०० डलर तलब लिने गरेकी छिन्। आफ्नै पत्नीलाई हप्तामा १०० डलर शुल्क तिर्नका लागि ती महिलाका पतिलाई पनि कुनै आपत्ति छैन।
वास्तवमा ती महिलाले गृहिणी अर्थात् हाउसवाइफ बनेबापत लोग्नेसँग शुल्कको रुपमा तलब लिने गरेकी हुन्। घरमा खाना पकाउने तथा घरको सरसफाइ गर्नेलगायतका घरायसी काम गरेबापत पतिले आफूलाई हप्तामा १०० डलर दिने गरेको ती महिला बताउँछिन्। यस अर्थमा त्यो रकम गृहिणी बनेबापतको उनको तलब हो।
२८ वर्षकी एलिसा नामकी ती युवतीले आफूलाई पतिले घरको रेखदेख गर्ने जागिर दिएको बताएकी छिन्। साथै उनले त्यो आफ्नो अहिलेसम्मकै सबैभन्दा राम्रो नोकरी भएको र त्यसबाट धेरै खालका फाइदा पाइरहेको पनि दाबी गरेकी छिन्। आफूले अन्य महिलालाई पनि आफ्नो वित्तीय सफलताका बारेमा बताउने र यस्तै जीवनशैली अपनाउनका लागि प्रेरित गर्ने गरेको उनको भनाइ छ।
एलिसाको युट्युब च्यानलमा एक लाख ८२ हजारभन्दा धेरै सब्सक्राइबरहरु रहेका छन्। युट्युब च्यानलमा भिडियोहरू राखेर उनले पारम्परिक गृहिणी बन्नुका फाइदाबारे बताउने गर्छिन्।
एलिसाका अनुसार सैनिक सेवामा काम गर्ने बेलामा एलिसा र उनका पति टमको भेट भएको थियो। त्यसबेला दुवैजनाले कामसँगै पढाइ पनि गरिरहेका थिए। त्यहीबेला उनीहरुबीच प्रेम बस्यो। भविष्यमा आफूले आफ्नो करिअर तथा महत्वाकांक्षालाई पछि राखेर एक घरेलु जीवनशैली अपनाउँला भन्ने कुरा त्यसबेला आफूले कल्पनासम्म नगरेको उनी बताउँछिन्।
इन्गेजमेन्टपछि एलिसालाई थाहा भयो कि उनका हुनेवाला पति टम उनको घर तथा आफैंप्रति पनि केही बढी ध्यान दिन चाहन्छन्। पतिको त्यो इच्छा पूरा गर्नका लागि उनी जागिर छाडेर एकजना घरेलु महिला बनेर एकजना सामान्य पत्नीको रुपमा घर सम्हालेर बस्नुपर्ने थियो। त्यसो गर्दा दुईको सम्बन्ध सामान्य बन्ने दुवैजना खुसी हुन सम्भव थियो। सोही विचारका साथ गृहिणी बन्ने निर्णय गरेकी एलिसा र टमबीच बिहे भएको दुई वर्ष भयो र उनी आमा बन्ने तयारीमा छिन्।
गृहिणीको तलब प्रतिहप्ता १ सय डलर किन?
एलिसाका अनुसार सुरुमा उनलाई आफू एकजना भौतिक वैज्ञानको ट्रायथलिट बन्न चाहन्थिन्। त्यो उनको मानसिकता थियो। तर, पछि उनले सन् १९५० को दशकको पारम्परिक जीवनशैली अबलम्बन गर्ने निर्णय गरिन्।
डेलीमेलका अनुसार एलिसाले गृहिणी बन्ने निर्णय गर्दा उनका पति टम निकै खुसी भएका थिए। तर त्यसका लागि एलिसाले जागिर छाड्नुपर्ने थियो। त्यसैले त्यसबापत एलिसाले पछिसँग प्रतिहप्ता १०० डलरको तलब माग गरिन्। उक्त रकम उनले आत्मसम्मानका लागि मागेकी थिइन्, ताकि त्यही रकमले कहिलेकाहीँ शपिङ गर्न सकियोस्। एलिसाको त्यो प्रस्ताव टमले सहर्ष स्वीकार गरे।
टमका अनुसार एलिसा आर्थिक रुपमा निकै अनुशासित छिन् र फजुल खर्च गर्दिनन्। पत्नीको त्यो निर्णयबाट आफू निकै खुसी रहेको र तनावमुक्त जीवन बाँच्ने मौका पाएको उनी बताउँछन्।
एलिसाले पनि सेनामा जागिर गर्दाको तुलनामा आफूले गृहिणी भएर धेरै आम्दानी गरिरहेको भन्दै गृहिणी बन्नु आफ्नो अहिलेसम्मकै सबैभन्दा राम्रो जागिर रहेको बताएकी छिन्।
औपचारिक ९ देखि ५ को जागिरभन्दा आफ्नो गृहिणीको जागिर राम्रो भएको भन्दै उनले आफूले एक वास्तविक हाकिमसँग वास्तविक जागिर गरिरहेको बताउँछिन्। आफूलाई कुनैदिन जागिरबाट निकालिने डर नरहेको उनको भनाइ छ।
तथापि एलिसाको उक्त जीवनशैलीको नारीवादीहरुले भने आलोचना गरेका छन्। एलिसालाई उनीहरुले अल्छीको आरोप लगाएका छन् र सम्मानित कामको आडमा एकजना सामान्य गोल्ड डिगर बनेको आरोप लगाएका छन्।
एलिसाका अनुसार सामाजिक सञ्जालमा उनको आलोचना गर्नेमध्ये अधिकांश महिला ३० वर्ष माथिका अविवाहित महिला हुन्।