नेपाल समाचार। २९.१२.२०७८
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह साढे ४ बजेबाट स्थानीय तह निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेता सहभागी छन् । बैठकमा चुनावी तालमेलको मापदण्ड बनाउने र गठबन्धनका उम्मेदवार जिताउने बारे छलफल केन्द्रित छ ।
सोमबार संयुक्त अपिल जारी गर्दै गठबन्धनका शीर्ष नेताहरूले नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए । देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ ।
तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन । आजको बैठकले संयन्त्रमार्फत तालमेलको मापदण्ड तयार पार्ने बताइएको छ ।