नेपाल समाचार। २७.१२.२०७८
आगामी २०७९ बैशाख १६ देखि १८ गतेसम्म नेपाल–भारत साहित्य यात्राको दोस्रो संस्करण ‘नेपाल–भारत साहित्य महोत्सव–२०२२’ हुने तय भएको छ । महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र मेरठ लिटरेरी फेस्टिबलका अध्यक्ष डा विजय पण्डितसहितको उपस्थितिमा आइतबार काठमाडौंमा भएको बैठकले उक्त निर्णय गरेको हो ।
कोरोना महामारीको कारण काठमाडौंमा गत फेब्रुअरी २६–२८, २०२२ मा आयोजना गर्ने भनिएको नेपाल–भारत साहित्य महोत्सव स्थगित गरिएको थियो । यस महोत्सवका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । साथै महोत्सवका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्य रहेको छ । महोत्सवको पहिलो संस्करण वीरगन्जमा भएको थियो ।
महोत्सवमा साहित्यिक परिचर्चा, लघुकथा वाचन, साँस्कृतिक कार्यक्रम, स्मारिका प्रकाशन, महफिल, पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, बहुभाषिक कवि गोष्ठी, अनुवाद सत्र, सम्मान, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीहरुसँग साक्षात्कार, काठमाडौं घोषणापत्र जारी लगायत हुनेछ ।