नेपाल समाचार। १८.१२.२०७८
तुल्सीपुर -दाङको घोराही–१८ ढोडेनीस्थित नममा मनबहादुर पुनले व्यक्तिगत लगानीमा भ्यूटावर निर्माण गरेका छन् । घोराही बजारदेखि करिब दुई किलोमिटर पर पूर्वभारतीय सेनाका क्याप्टेन मनबहादुर पुन र श्रीमती दिलमाया पुनको नाममा उनका छोराहरुले ढोडेनीस्थित छु बौद्ध गुम्बामा भ्युटावर निर्माण गरेका हुन् । ०७५ सालमा गुमानबहादुर पुन, नरेन्द्र पुन र डा. बसन्त पुनको ४० लाख लगानीमा भ्यूटावर निर्माण गरिएको हो ।
तीन वर्षअघि निर्माण गरिएको भ्यूटावर आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको भ्यूटावर संरक्षक समितिका अध्यक्ष नरेन्द्र पुनले बताए । ‘बुबा–आमाको सम्झनामा पर्यटकीय क्षेत्रको विकासका लागि पारिवारीक लगानीमा भ्यूटावर निर्माण गरेका हौं,’उनी बताउँछन् । १७ मिटर अग्लो भ्युटावरबाट दाङ सदरमुकाम घोराही बजार, धार्मिक तथा पर्यटकीय स्थल पाण्डवेश्वर, धारापानी, तालतलैया र बाक्लिंदै गएको वस्ती हेर्न सकिन्छ । घोराहीका यिनै मनोरम दृश्य हेर्न पर्यटकहरु मनदिल भ्यूटावर पुग्ने गरेका छन् । पुनका अनुसार रातिको दृष्य हेर्न पर्यटकहरु बढी लालायित हुने गरेका छन् ।
नरेन्द्र पुनका अनुसार टिकटबाट संकलित रकम खर्च कटाएर बचेको रकम सामाजिक सेवामा खर्च गरिने छ ।उनले भ्यूटावरबाट उठेको रकम विद्यार्थी छात्रवृति प्रदान गर्ने, स्वास्थ्य र खेल क्षेत्रमा खर्चिने बताए । ‘भ्यू टावर निर्माण भएसँगै सिंगो घोराहीलाई नियाल्न पहाड नै उक्लनुपर्ने अवस्था रहेन, भ्यू टावरमा राखिएको दूरविनबाट घोराही क्षेत्रका ठाउँहरु नियाल्ंन सकिन्छ,’ पुनले भने, ‘यसले यहाँको पर्यटन विकासमा टेवा पुर्याएको छ ।’ दैनिक १० देखि १५ जनासम्म पर्यटक भ्युटावर आउने गरेको उनले बताए ।
दाङमा स्थानीय तहले बनाएका ६ वटा र व्यक्तिगत एउटा गरी ७ वटा भ्यूटावर छन् । तीमध्ये एउटा निर्माणाधीन छ ।