चितवनमा ४० वर्षसम्मको लोड धान्न सक्ने गरी विद्युतको पूर्वाधार बनाइदिन कुलमानलाई प्रचण्डको आग्रह

सेयर गर्नुहोस्

नेपाल समाचार। १६/१२/२०७८

पोखरा- चितवनको राप्ती नगरपालिकामा निर्मित हर्दी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी ४० वर्षसम्मको लोड धान्न सक्ने गरी विद्युतको पूर्वाधार बनाइदिन नेपाल विद्युत प्राधिकरणका सीईओ कुलमान घिसिङलाई आग्रह गरेका छन् ।

‘यो १३२ केभी सबस्टेशनले केही वर्ष त धान्छ । तर दुई-तीन वर्षपछि फेरि समस्या आउनसक्छ । त्यसैले त्यस नजिकै फेरि अर्को सबस्टेशन बनाउनुपर्छ,’ प्रचण्डले भने र साथै विद्युत प्राधिकरणको सीईओ पदमा रहँदै कुलमानलाई थप पूर्वाधार बनाउने प्रक्रिया अघि बढाइदिन आग्रह गरेका छन् ।

लामो समयसम्म लोडसेडिङको मार व्यहोर्न बाध्य भए पनि अहिले विद्युत निर्यात गर्ने अवस्थामा आइपुगेको स्मरण गर्दै प्रचण्डले अब विद्युतको मद्दतबाट यातायात, कृषि, शिक्षा, सिंचाइ लगायतका क्षेत्रमा आमूल परिवर्तनको दिशामा अघि बढेको बताए । ‘अब त यातायात पनि विद्युतैबाट, चुलोचौको पनि विद्युतैबाट, सिंचाइ पनि विद्युतैबाट सबै चिज विद्युतबाट गर्नेतिर यो देश अगाडि बढ्दै छ,’ प्रचण्डले भने ।

मकवानपुर, चितवन र नवलपुरलाई समेटेर विकासको नयाँ मोडेलबारे सोचिरहेको पनि प्रचण्डले सुनाए । ‘पूरै चितवन, मकवानपुर र नवलपुरसम्मलाई जोडेर विकास प्राधिकरणको अवधारणाबाट छलफल गर्दैछौं,’ प्रचण्डले भने, ‘नारायणीमा धेरै पुलहरु बनाएर विकासलाई नयाँ गति दिन सकिन्छ ।’ उनले भौतिक पूर्वाधार विकासमा सहयोग गर्न स्थानीयवासीलाई आग्रहसमेत गरे ।

ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले विद्युतीकरणको क्षेत्रमा प्रगति गरेजस्तै अन्य सबै मन्त्रालयले काम गर्ने हो भने देश बनाउन धेरै वर्ष नलाग्ने प्रचण्डले बताए ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *