नेपाल समाचार। १३.१२.२०७८
पोखरा – तेस्रो लिङ्गीको हकहितका लागि काम गरिरहेका संस्थाहरुले मतदाता परिचय पत्रमा तेस्रो लिङ्गी लेख्न अभियान र जागरुकता बढाएका कारण निर्वाचन आयोगमा १ सय ७२ जना तेस्रो लिङ्गी मतदाताको नाम दर्ता गराईसकेको छ । साथै आज सार्वजनिक गर्ने मतदाता नामावलीमा थप बढने संकेत निर्वाचन आयोगले गरेको छ ।
गत ५ पुससम्म निर्वाचन आयोगमा १ सय ७२ जनाले आफुलाई तेस्रो लिङ्गीको पहिचान खुलाएर नाम दर्ता गराएको रेकर्ड कायम छ । ५ पुससम्म १ करोड ६२ लाख ४३ हजार १ सय १० जनाको मतदाता नामावलीमा रेकर्ड रहेको थियो । जसमध्ये ८२ लाख ११ हजार ९ सय ५४ जना पुरुष छन् भने ८० लाख ३० हजार ९ सय ८४ जना महिला छन् ।
आयोगले फागुन अन्तिमसम्मको म्याद राखेर पुनः नामावली उल्लेख गर्न आह्वान गरेअनुसार आज सार्वजनिक हुने मतदाता नामावलीको संख्या झन्डै २ लाख बढने प्रक्षेपण गरेको छ ।