नेपाल समाचार। २६/११/२०७८
पोखरा – २०७८ साउनदेखि माघ मसान्तसम्म देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । यी दुर्घटनामा परी १ हजार ६३८ जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक विष्णु कुमार केसीकाले बताए । साथै चालु आर्थिक वर्षमा विभिन्न दुर्घटनामा परी १८ हजार २३४ जना घाइते भएका छन् । यीमध्ये ४ हजार ३७ जना गम्भिर र १४ हजार १९७ जना सामन्य घाइते भएका थिए । सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यका भित्र हुने गरेको देखिन्छ । सबैभन्दा बढी सवारी साधन दुर्घटना बागमती प्रदेशमा भएको भए पनि दुर्घटनामा ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या भने मधेश प्रदेशमा रहेको छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा सुदुरपश्चिम प्रदेशमा ३२७, कर्णाली प्रदेशमा २३८, लुम्बिनी प्रदेशमा ६७०, गण्डकी प्रदेशमा २४०, बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक) ९८०, प्रदेश १ मा २ हजार १७८ र काठमाडौं उपत्यकामा ६ हजार २१ वटा दुर्घटना भएका छन् । पछिल्लो सात महिनामा सवारी दुर्घटनामा परी सुदुरपश्चिम प्रदेशमा ११२, कर्णाली प्रदेशमा १२२, लुम्बिनी प्रदेशमा ३०४, गण्डकी प्रदेशमा १४४, बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक) २२३, मधेस प्रदेशमा ३३९, प्रदेश १ मा ३०१, र काठमाडौं उपत्यकामा ९३, जनाले ज्यान गुमाएका छन् ।
सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधनमा मोटरसाइकल रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यो अवधिमा दुर्घटनामा पर्ने सवारी सधानमा ११ हजार २६७ वटा मोटरसाइकल, ४० वटा डोजर, २१८ वटा माइक्रो, लोडर र स्काभेटर, १ हजार ४३६ वटा बस, ४१९ वटा टिपर, ५ हजार ९४ जिप तथा कार, ५४६ वटा ट्रयाक्टर, ६८० टेम्पो, १ हजार ३७५ ट्रक तथा ट्याङ्कर, र बाँकी अन्य सवारी साधन रहेका छन् ।
यो अवधिमा देशभर सवारी दुर्घटनामा २२ हजार ५० वटा सवारी साधन संलग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनमध्ये १० हजार ९३७ वटा काठमाडौं उपत्यकामा, ३ हजार २७७ वटा प्रदेश १ मा, ४ हजार ४६५ वटा मधेश प्रदेशमा, १ हजार ४१५ बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक), ३२० वटा गण्डकी प्रदेशमा, ९०७ वटा लुम्बिनी प्रदेशमा, २८८ वटा कर्णाली प्रदेशमा र ४४१ वटा सुदुरपश्चिम प्रदेशमा रहेका छन् ।
कुन समयमा हुन्छ बढी दुर्घटना ?
चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशभर मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा ५ हजार ४३६ वटा सवारी दुर्घटना भएका छन् । प्रहरीका अनुसार सो अवधिमा विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म ३ हजार १८०, साँझ ६ बजेदेखि राती १२ बजेसम्मको समयमा ४ हजार ४६३ र राती १२ बजेदेखि विहान ६ बजेसम्म्को समयमा ६२० वटा दुर्घटना भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सवारी दुर्घटना मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा हुनेगरेको देखिन्छ ।
दुर्घटनाको प्रमुख कारण– तिव्र गति
नेपाल प्रहरीका अनुसार बितेको सात महिनामा सवारी चालकको कारण ११ हजार ९३६ वटा सवारी दुर्घटना भएका छन् । सोही अवधिमा सवारी साधनको कारण ३६४, यात्रुको कारण ५१९, सडकको अवस्थाका कारण ७५४, मौसमको कारण ४८ र चौपायाको कारण ८२ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस वर्ष तिव्र गतिका कारण ६ हजार २५८ वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कले देखाउँछ । ओभरटेक गर्दा ४८६, मादप पदार्थ सेवन गरेका कारण ७२९, यात्रुले बाटो काट्दा ४३३ र ट्राफिक नियम उल्लंघन गर्दा ५७७ वटा दुर्घटना भएको पाइएको छ ।